भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि सुरु भएर अष्टमीसम्म चल्ने आठ दिनको गाईजात्रा, नेवार समुदायको मात्रै होइन, सम्पूर्ण उपत्यकावासीको साझा सांस्कृतिक उत्सव हो ।
यो पर्वको मूल सार भने दुई भावनाको अद्भुत संगम हो—एकातिर, दिवङ्गत आफन्तप्रति श्रद्धाञ्जलि, अर्कोतिर, जीवित समाजप्रति व्यङ्ग्य र चेतना।
पुत्रशोकदेखि सार्वजनिक व्यङ्ग्यसम्मको यात्रा
गाईजात्राको सुरुवात राजा प्रताप मल्लको दरबारबाट भएको मानिन्छ। आफ्ना प्रिय पुत्र गुमाएपछि रानी शोकमा डुबेकी थिइन्। रानीलाई संसारमा सबैले दुःख भोग्छन् भन्ने देखाउन राजा प्रताप मल्लले काठमाडौंका बासिन्दालाई दिवङ्गत आफन्तको नाममा गाई वा मानिसलाई गाईका रूपमा सजाएर नगरपरिक्रमा गर्न आदेश दिए।
तर, शोकको लहर मात्र होइन, मन हलुका पार्ने हाँसोको संस्कार पनि सुरु भयो। राजा प्रताप मल्लकै आदेशमा प्रहसन, व्यङ्ग्य र सामाजिक कटाक्ष जोडियो। त्यो समयदेखि गाईजात्रा मृतकको सम्झनासँगै समाजको विकृतिविरुद्ध हास्य–व्यङ्ग्यको मञ्च बन्दै आएको छ।
धार्मिक आस्था र सांस्कृतिक रौनक
धार्मिक विश्वासअनुसार, गाईजात्राको दिन गाईको पुच्छर समातेर दिवङ्गत आत्माले वैतरणी पार गर्छन् । त्यसैले श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्छन्।
नगरपरिक्रमा, नाचगान, र करुण रसका भजनहरूसँगै उपत्यकाका सडकहरू आज साँच्चिकै सांस्कृतिक रंगमञ्चमा बदलिन्छन्। पाटनमा देखाइने सत्ययुगको धान र चामल, काठमाडौंको ठमेलमा प्रदर्शन हुने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू—यी सांस्कृतिक प्रदर्शनले गाईजात्रालाई अझै अद्वितीय बनाउँछन्।
व्यङ्ग्यको शक्ति र समयको सन्देश
पञ्चायती शासनको समय, २०१७ सालको ‘कू’पछि, गाईजात्रामा व्यङ्ग्यको धारलाई खतरास्वरूप देखेर प्रतिबन्ध लगाइयो। तर, २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पुनः सुरु गरेपछि, यो फेरि हाँसो र चेतनाको उत्सव बनेर फर्कियो।
आजको गाईजात्रा पनि विगतझैं समाजको भ्रष्टाचार, अन्याय, विसङ्गति र अन्धविश्वासविरुद्ध कलात्मक तरिकाले बोल्ने दिन हो। सडकमा देखिने झाँकी, कलाकारको अभिनय र हास्य कविताले “हास्दै चेतना दिने” परम्परा जिवन्त राखेका छन्।
उपत्यकाबाहिरको गाईजात्रा
बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, संखुवासभा पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरमा पनि गाईजात्रा उत्तिकै जोशजाँगरका साथ मनाइन्छ।
गाईजात्रा केवल मृतकलाई सम्झने र मनोरञ्जनको पर्व मात्र होइन, यो समाजलाई आफ्नो ऐना देखाउने अवसर हो। हाँसो र व्यङ्ग्यको आवरणमा लुकेको सन्देश—”त्रुटि सुधारौं, जीवनलाई मूल्यवान् बनाऔं”—आज पनि उतिकै सान्दर्भिक छ।







































धार्मिक आस्था र सांस्कृतिक रौनक
उपत्यकाबाहिरको गाईजात्रा