गोकर्ण विष्टको नयाँ एक्सनपछि काजमा रहेका कर्मचारीको भागाभाग

921

काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरूले त्यही दरबन्दीमा रहेका कर्मचारीलाई मात्र हाजिर गराउन भनेपछि काजमा रहेका कर्मचारीको भागाभाग भएको छ ।

काजमा आफूलाई पायक पर्ने तथा मालदार मानिने ठाउँमा टाँसिएर बसेका कर्मचारीहरू मन्त्री विष्टको पछिल्लो निर्देशनपछि रमाना लिएर आफ्नै दरबन्दी रहेकै कार्यालयमा जान थालेका छन् ।

यसरी रमाना लिएर आफ्नो कार्यालयमै फिर्ता हुनेमा श्रम कार्यालय ताहाचलका निमित्त प्रमुख केदार देसार पनि छन् । देसार सोमबार नै रमाना लिएर स्थानीय विकास मन्त्रालयमा हाजिर हुन गएको मन्त्री विष्टको सचिवालयले जानकारी दियो । श्रम कार्यालय ताहाचलको प्रमुखमा अब को आउने भन्ने निश्चित भइसकेको छैन ।

मन्त्री विष्टको निर्देशनपछि १२ जना नायव सुब्बा, दुईजना कम्प्युटर अधिकृत र दुईजना कार्यालय सहयोगी पनि आफ्नो साविककै कार्यालयमा फिर्ता हुन बाध्य हुने भएका छन् । उनीहरूले श्रम मन्त्रालय मातहतका विभागहरूमा काज मिलाएर काम गर्दै आइरहेका थिए ।