ग्राभेलिङको नाममा माटो, हिलाम्य भो बाटो !

1015

० हरिसुन्दर छुकां
भक्तपुर । बाटो सुधारका लागि भनी वडा कार्यालयबाट ‘ग्राभेलिङ’ गरेपछि बाटो हिलाम्य भएको छ ।
चाँगुनारायण्न नगरपालिका वडा नं. ४ चाँगुनारायणको न्याचोपौवा कुँइकेल गाउँ सडकमा ग्राभेलिङको नाममा माटो खसाल्दा बाटो हिलाम्य भएको हो ।
बाटो हिलाम्य भएपछि सो सडक भएर आवतजावत गर्ने सर्वसाधारणदेखि सवारी साधन चालकलाई पनि समस्या भएको स्थानीय बताउँछन् ।
‘वडा कार्यालयले ग्राभेलिङको नाममा सडकको ठाउँठाउँमा माटो खसालेको छ, त्यसले गर्दा यात्रा गर्दा माटोमा भासिने, गाडिने समस्या भएको छ, वडा कार्यालयले ग्राभेल नखसाली माटो खसाल्दा समस्या भएको हो ।’ एक स्थानीयले भने ।
उनले जसोतसो चलिरहेको बाटोमा ढुंगाका टुक्राहरु खसाल्नपर्नेमा माटोले खाल्डा पुर्दा समस्या भएको बताए । ‘यसरी ग्राभेलिङ गरेपछि हामी त जसोतसो हिँडिरहेका छौं तर एम्बुलेन्स समेत नआउने अवस्था भएको छ ।’ अर्का स्थानीय बलराम श्रेष्ठले भने ।
सो स्थानका मात्र नभएर सोही सडक भएर वडा कार्यालय जाने, काठमाडौंको डाँछी र ब्रम्हखेल जाने स्थानीयलाई पनि समस्या भएको छ । वडा कार्यालयका अनुसार उक्त सडकबाट करिब ५ सय घरधुरी लाभान्वित भइरहेका छन् ।
स्थानीयहरुले सडकमा ग्राभेलिङ गर्नका लागि वडा कार्यालयको पहल नभएर सो सडक भएर यात्रा गर्ने केही पर्यटकले व्यक्तिगत तवरले आर्थिक सहयोग गर्ने वचन दिएपछि वडा कार्यालयबाट ग्राभेलिङ गरिएको बताए । ‘केही पर्यटकहरुले आफूहरुले ६० प्रतिशत व्यहोर्ने गरी सो सडकमा ग्राभेलिङ गर्न भनेपछि ग्राभेलिङ गरेको थियो, तर वडा कार्यालयले ग्राभेलिङको नाममा माटो खन्याएपछि बाटो त्यस्तो बनेको हो ।’ एक स्थानीयले भने ।
वडा कार्यालयबाट त्यस किसिमको काम भएपछि ग्राभेलिङका लागि आर्थिक सहयोगै नगरी पर्यटक फर्किएका छन् ।
वडा कार्यालयबाट सो तरिकाको काम भएपछि स्थानीय आक्रोसित भएका छन् ।‘वडाध्यक्षले माटो ल्याएर ग्राभेलिङ गरे, बाटो मर्मत गरेको हो कि बिगारेको, हिँड्नै समस्या भएको छ ।’ एक स्थानीयले फेरि भने ।
वडाध्यक्ष बुद्धिलाल महर्जनले ग्राभेलिङ नै गरेको दाबी गरे । उनले सो सडकका ठाउँठाउँमा १०देखि १२ ट्रिप ग्राभेल गरिएको बताउँदै पानी पर्दा समस्या हुन गएको जनाए ।
उनले पानी नपरेको बेला सडक ठीक हुने बताए । उनले वडा कार्यालयले उधारोमा सडकमा ग्राभेलिङ गरेको र त्यो काममा केही पर्यटकहरुले सहयोग गरेको बताएका छन् ।
‘बाटोमा ग्राभेलिङ गर्नका लागि नगरपालिकामा निवेदन दिएका छौं, हामीले जनताको समस्या समाधान गर्नका लागि ग्राभेलिङ गरेका हौं, माटो हैन ।’ उनले भने ।