काठमाडौं । पछिल्ला केही समयमा महिलामाथिको हिंसा बढ्दै गएकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । दिनहुँ भइरहेका बलात्कारका घटनाले समाजलाई नराम्रो बाटोमा डाहो¥याइरहेको उनीहरुको निष्कर्ष पनि छ ।
महिला आधारशीलाले राजधानीमा शुक्रबार गरेको ‘मुलुकी देवानी (संहिता) ऐन २०७४ अन्तर्गत पारिवारिक कानुन र घरेलु हिंसा कसुर सजाय ऐन २०६६’ विषयक कार्यक्रममा सहभागीहरुले पछिल्ला दिनमा घरेलु हिंसा भयाभव बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।
सो कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष सरस्वती दाहालले महिला हिंसा अन्त्य गर्न समाजले नै पहिलो भूमिका खेल्नुपर्ने बताइन् । उनले हालसम्म बनेका महिलासम्बन्धी कानुन पनि पुरुष हाबी भएको दावी गरिन् ।
उनले भदौं १ गतेदेखि लागू भएका केही संहिताले महिलालाई झन पीडित बनाउने भएकाले यसको संशोधन जरुरी भएको बताइन् ।
मानवअधिकारकर्मी चरण प्रसाईँ, भवानी खरेल, महिला सुरक्षा दवाव समुहकी अध्यक्ष सावित्रा थापा लगायतले महिला हिंसा अन्त्य गर्न राज्य उदार बन्न नसकेको आरोप लगाए । उनीहरु हालै जारी गरिएको संहिताले महिलालाई थप पीडित बनाउने दावी गरे ।
सो कार्यक्रममा महिला अधिकारकर्मी प्रा.डा शशी अधिकारीले देवानी संहितामा समावेश गरिएका महिलासम्बन्धी व्यवस्था गरिएका कानुनहरुको विस्तृत विवरण सहितको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
महिला आधारशीलाकी अध्यक्ष रेणुका शर्मा उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा कानुनी सन्देश नामक पुस्तिकाको पनि विमोचन गरिएको थियो ।







































