काठमाडौं– २०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो। एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता असुल्थे। एउटाको क्षेत्रमा अर्काे जाँदा मात्र पनि ग्याङफाइट हुन्थ्यो।
ठमेलमा दीपक मनाङे (राजीव गुरुङ) तथा चक्रपथ क्षेत्रमा मिलन चक्रे (मिलन गुरुङ)को राज थियो।
चक्रेको आतंक बढेपछि मनाङेले काभ्रेली समूहका गणेश लामा लगायतलाई हात लिएर आफू बलियो बने। मनाङे र चक्रेको शत्रुता झन् झन् बढिरहेको थियो। दुवै समूह एक अर्काविरुद्ध आक्रमणको योजनामा थिए।
पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्ट चक्रेको प्रिय ‘अखडा’ थियो। त्यहाँ पाइने ‘ह्वेल मिट’ उनको ‘फेभरेट’। त्यसैका लागि उनी नियमित जसो उक्त रेस्टुरेन्टमा जान्थे।
जुन कुरा मनाङेको समूहलाई थाहा थियो। चक्रे त्यहाँ नियमित रुपमा आउने थाहा पाएपछि मनाङेको समूहले आक्रमण गर्ने योजना बनायो। दरबारमार्गको उडल्यान्ड होटलमा बसेर चक्रेलाई त्यही चाइनिज रेस्टुरेन्टमा आक्रमण गर्ने योजना बनेको थियो। मनाङेसहित काभ्रेली समूहका गणेश लामा, रमेश सुनुवार, विष्णु
लामा, उमेश लामा लगायत बसेर आक्रमणको योजना बनाएका थिए। सोही अनुसार खुँडासहित उनीहरु उक्त रेस्टुरेन्टमा पुगेर चक्रेलाई आक्रमण गर्न सफल भए।
आक्रमणमा चक्रेको देब्रे हात दुई टुक्रा भएको थियो। जुन पछि त्रिवि शिक्षण अस्पतालमा जोडियो। सोही घटनाका कारण चक्रेको एउटा हात सानो छ।
१३ वर्षअघिको सोही ग्याङफाइट अहिले मनाङेका लागि ठूलो आपत बन्न पुगेको छ। सोही आक्रमणको मुद्दामा मंगलबार सर्वाेच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अलालतको फैसला सदर गरेको हो। आक्रमणमा संलग्न काभ्रेली समूहले पनि सफाइ पाएको छ।
घटना लगत्तै प्रहरीले मनाङे लगायतको समूहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलायो। जसमा जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनायो भने तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाई अरुलाई सफाइ दियो। जिल्ला अदालतको फैसलाअनुसार मनाङे २ वर्ष जेल बसिसकेका छन्। अब उनी थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ।
त्यसपछि मनाङे पटक–पटक पक्राउ परे। राजनीतिक छहारीमा आफ्नो विगत लुकाउने प्रयास गरेर उनले अनेक हत्कण्डा अपनाई मनाङको प्रदेशसभामा चुनाव जिते। चुनाव जिते पनि सर्वाेच्चलाई भने जित्न सकेनन्। जसले संसद् भवन छिर्ने तयारीमा रहेका मनाङेका लागि जेलको बाटो तय भएको छ।
मनाङे भन्छन्- सर्वोच्चको फैसलाले अचम्ममा परेँ
काठमाडौं– मनाङ प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतको फैसलाले आफू अचम्ममा परेको बताएका छन्।
मनाङेले आफू दोषी ठहर भएको फैसलाले आश्चर्यमा पारेको बताए। सर्वोच्चले मंगलबार ०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मुद्दामा मनाङेलाई पाँच वर्षको कैद सजाय गर्ने फैसलालाई सदर गरेको छ।
‘चक्रे मिलेनलाई खुकुरी प्रहार गरेको प्रकरणमा सामान्य कुटपिटको मुद्दा थियो’, मनाङेले टेलिफोन कुराकानीमा भने, ‘मेरो हकमा पुनरावेदन नभई कसरी म दोषी ठहर भएँ होला र?’
०६१ सालमा भएको घटनामा आफ्नो हकमा सरकारी वकिलले समेत पुनरावेदन नगरेको तर त्यसमा टेकेर सर्वोच्चले फैसला गरेको मनाङेले बताए। आफूले कानुन व्यवसायीसँग सल्लाह गरिरहेको उनको भनाइ छ।
‘यो नेपाल हो, यहाँ जे फैसला पनि हुन्छ’, मनाङेले भने।
सर्वोच्चको फैसला मानेर जेल जाने कि नजाने भनी राखेको जिज्ञासामा उनले अहिलेसम्म मिडियामा हल्ला मात्र चलेको र अदालतको फैसला हेरेर निर्णय लिने बताए।







































