चाँगुनारायणको गोकुलधाममा श्रीकृष्णको विराट स्वरूप मूर्तिको अनावरण

29

चाँगुनारायण नगरपालिका–५ गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । श्रीकृष्ण भगवानको विराट स्वरुप श्रीमूर्तिको शुभसाईतमा पूजा, हवन एवं अनावरण तथा प्राण प्रतिष्ठा गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ, संघीय सांसद दुर्लभ थापा, प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चनबादे श्रेष्ठ, नगर प्रमुख जीवन खत्रीसहित जनप्रतिनिधिहरुको उपस्थितिमा मूर्तिको अनावरण गरिएको हो ।

चाँगुनारायण नगरपालिकाको सहकार्य एवं चाँगुनारायण वडा नं. ५ कार्यालय, मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको आयोजनामा साउन २९ गतेदेखि तीन दिनसम्म सम्पन्न धार्मिक अनुष्ठान अन्तर्गत सातजना विद्वान ब्राह्मणद्वारा वैदिक विधिअनुसार पूजा, हवन तथा प्राण प्रतिष्ठा सम्पन्न गरिएको हो।

मुख्यमन्त्री बानीयाँले चाँगुनारायणको धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले जनताको विश्वास जित्ने गरि काम गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

संघीय सांसद दुर्लभ थापाले पछिल्लो समय चाँगुनारायण क्षेत्रमा भएको द्रुत विकासले इच्छाशक्ति भए असम्भव केही पनि हुँदैन भन्ने स्पष्ट भएको बताउनुभयो ।

नगर प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष–२०८२ को सन्दर्भमा आयोजना गरिएको यस धार्मिक तथा सांस्कृतिक आयोजनाले सम्पूर्ण नगरपालिकाको धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले यो मूर्तिस्थापनाले ओझेलमा परेको ऐतिहासिक सम्पदालाई पुनः उजागर गर्दै हिन्दू धर्मावलम्बीहरूका लागि एक पवित्र तीर्थस्थलका रूपमा यस क्षेत्रको पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख खत्रीले भन्नुभयो, ‘यो मूर्ति धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्पदा बन्नेछ। ओझेलमा परेको हाम्रो मौलिक सम्पदा पुनः उजागर हुँनेछ।’

प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफ्नो कार्यकालमा संस्कृति र पर्यटन प्रवर्द्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै पारदर्शी र निष्ठापूर्ण कार्यमार्फत चाँगुनारायणको सांस्कृतिक महत्त्वलाई विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभयो ।

भारतबाट पाल्नु भएकी श्रीश्री १००८ श्री महामण्डलेश्वर सरिता गिरीले नेपाललाई सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको लागि पवित्र भूमि घोषणा गर्दै सनातन धर्मको विश्वव्यापी प्रचार–प्रसारले नै विश्वमा स्थायी शान्ति स्थापना हुने धारणा व्यक्त गर्नुभयो।

चाँगुनारायण वडा नं. ५ का अध्यक्ष जयन्द्र खड्काले संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वय र सहयोगका कारण विराट श्रीकृष्ण मूर्तिको स्थापना सम्भव भएको उल्लेख गर्दै सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।

मूर्तिको अनावरण समारोहमा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेल, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

विराट श्रीकृष्ण मूर्तिको अनावरणसँगै अब यो पवित्र स्थल भक्तजनका लागि दर्शनार्थ खुला गरिएको छ।

प्रदेश सरकार तथा चाँगुनारायण नगरपालिकाको बजेट सहयोगमा मन्दिर परिसरभित्र गणेश मन्दिर, ऐतिहासिक शैलीको प्रवेशद्वार, पर्खाल, मल्लकालीन वास्तुकलामा निर्मित पाटी, ६४ शिवलिङ्गसहितका विविध धार्मिक संरचनाहरू निर्माण गरिएको छ। त्रिवेणी कुण्डले यो स्थानलाई अझ पवित्र बनाएको छ, जहाँ बिभिन्न पर्वहरूमा विशाल मेला लाग्ने परम्परा रहिआएको छ।

४१२ वर्ष पुरानो, विसं १६६९ मा स्थापना गरिएको मच्छेनारायण तथा श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा हालैका दिनहरूमा गणेश मन्दिर, ऐतिहासिक शैलीको प्रवेशद्वार, मल्लकालीन वास्तुकलामा निर्मित पाटी, ६४ शिवलिङ्गयुक्त धार्मिक संरचनाहरू तथा त्रिवेणी कुण्डको पुनर्निर्माण प्रदेश सरकार तथा नगरपालिकाको समन्वयमा सम्पन्न गरिएको छ।

विविध धार्मिक पर्वका अवसरमा विशाल मेला लाग्ने परम्पराले पवित्र यस स्थललाई अझ धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनाउने अपेक्षा गरिएको छ।