भक्तपुर । चाँगुनारायण कप भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा चाँगुनारायण कप भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ६ स्वर्ण १ कांस्य र ९ रजतका साथ नगदेश डोजोले उचालेको हो ।
यस्तै प्रतियोगितामा ४ स्वर्ण १ कांस्य र ४ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने ३ स्वर्ण २ रजत र ५ कांस्यका साथ डेमोस स्कुल डोजो तेस्रो भएको थियो ।

यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने डेमोस स्कुलका जेनी तामाङ र भक्तपुर न.पा डोजोका कुशल थापाले हात पार्न सफल भएका थिए ।
उत्कृष्ट खेलाडी तर्फ भने नगदेश डोजोकी मिस्ती श्रेष्ठ र महेन्द्र ग्राम स्कुलका अशोक श्रेष्ठले हात पारेका थिए ।
प्रतियोगिताको समापन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताउनुभएको थियो । उहाँले राज्यले नै खेलाडीहरूको लागि हेर्नु पर्ने बताउँदै स्थानीय तहले खेलकुदको विकासका लागि सक्ने प्रयास गर्नु पर्ने समेत उहाँले बताउनुभएको थियो ।
चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते सङ्घ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्ला भरका २५ डोजोबाट ३५० खेलाडी सहभागी रहेका थिए ।
तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।
खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले जानकारी दिनुभयो ।
खेलको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गर्नुभएको थियो । कार्यक्रममा खेलाडी दावा लामा, भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष राजु थापा , चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के.सी. सितोरियो कराते भक्तपुरका पूर्व अध्यक्ष प्रकाश द्यौभडेल, सूर्यविनायक नगर खेलकुद समितिका सचिव दीपक थापा लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको सङ्घका सचिव सच्चिदानन्द बनेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार एक दिने खेलमा जिल्ला भरबाट सहभागी रहेका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै खेलमा रेफ्री संयोजक मृगेन्द्र मोहन द्यौभडेल रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व राजन चित्रकार र कार्यक्रम सञ्चालन सङ्घका महासचिव राजु सिं बजिकोले गर्नुभएको थियो ।











































