भक्तपुर । भक्तपुरको चाँगुनारायण नपाले आइतबार आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । तर नपाकै कर्मचारीहरुले उक्त नीति तथा कार्यक्रमलाई गैरसरकारी संघसंस्थाले दातृ निकायमा आर्थिक सहयोग माग्न तयार गर्ने प्रस्तावना जस्तो भएको टिप्पणी गरेका छन् ।
आर्थिक वर्ष २०७५÷७६ को नपाको बजेटलाई दिशा निर्देश गर्ने नीति तथा कार्यक्रममै आश्वासनका पोकाहरु बाँड्ने कार्य भएको उनीहरुको भनाइ थियो ।
नगरका उपप्रमुख वीणा बाँस्तोलाले नगरको तेस्रो नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गैससले प्रस्तावना तयार गर्दा अपनाउने सूत्रहरुलाई हुबहु सारिएको कर्मचारीहरुको गुनासो छ । नीति तथा कार्यक्रममा गैससले कुनै कार्यक्रम गर्दा त्यसको भिजन, मिसन, गोल, उद्देश्य, कार्ययोजना उल्लेख गरेजस्तै सबै बुँदा उल्लेख गरिएको छ ।
त्यस्तै योजनाको विस्तृत विवरण दिनुअघि गैससले आफूले पहिले पाएको सफलता, अनुभवलाई पूर्वकार्यको समीक्षाको रुपमा प्रस्तुत गर्छन् । दातृ निकायलाई आफ्नो क्षमता र काम गरेको प्रमाण देखाउन पूर्वकार्यको समीक्षा अंशलाई प्रस्तावनाको अगाडि नै पेश गरिन्छ ।
गैससको प्रस्तावनाको प्रारुपलाई नै चाँगुनारायण नपाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमको रुपमा प्रस्तुत गरेको स्पष्ट छ । नीति तथा कार्यक्रमको पहिलो खण्डमा परिचय र समीक्षा उल्लेख गरिएको छ । जसमा पृष्ठभूमि, चालू आवको नीति तथा कार्यक्रमको समीक्षा रहेका छन् । चालू आवको नीति तथा कार्यक्रमको समीक्षाअन्तर्गत आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र र वातावरण तथा विपद् व्यवस्थापनलाई महत्व दिइएको छ ।
त्यस्तै खण्ड दुईमा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । उक्त खण्डको पहिलो उपखण्डमा सोच, लक्ष्य, उद्देश्य र अवलम्बनका आधारहरु तय गरिएका छन् ।
त्यस्तै दोस्रो उपखण्डमा वार्षिक नीति तथा कार्यक्रम तर्जुमामा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु उल्लेख गरिएका छन् । जसमा मूलभूत नीति तथा कार्यक्रम र क्षेत्रगत नीति तथा आधारहरु छुट्याइएका छन् । जुन स्पष्टसँग गैरसरकारी संघसंस्थाहरुको प्रस्तावनाका अंगहरु हुन् भन्दा अत्युक्ति नहोला ।
नपाले नगरवासीहरुको आधारभूत आवश्यकता पूरा गर्दै विशिष्ट पहिचानसहितको सुन्दर र समृद्ध नगर बनाउने मुख्य सोच रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाको कार्यपालिकाबाट पारित गरिएको भनिएको नीति तथा कार्यक्रममा नगरपालिकाले एकवर्ष्भित्र के गर्ने भन्ने कुरामै अन्योल देखिने कर्मचारीहरु बताउँछन् ।
‘नपाको नीति तथा कार्यक्रम गैससको प्रस्तावना जस्तोमात्रै छैन, धेरै कुरा समावेश गर्ने नाउँमा नीति तथा कार्यक्रम आफै कुहिरोको काग जस्तो भएको छ’, एक कर्मचारीले भने, ‘नीति तथा कार्यक्रम हेर्दा कन्सल्टेन्सीमार्फत बनाउन लगाइएको जस्तो देखिन्छ ।’
उनीहरुले एउटै नीति तथा कार्यक्रम धेरै ठाउँमा दोहोरिएको गुनासो गरे ।
कर्मचारीहरुका अनुसार नगरको नीति तथा कार्यक्रम तयारीबारे उनीहरुसँग कुनै सल्लाह गरिएको थिएन । आइतबार नगरसभा हुँदै गर्दासमेत नीति तथा कार्यक्रम कर्मचारीहरुलाई वितरण नगरिएको उनीहरुको गुनासो छ ।
नगरसभामा नगर प्रमुख सोमप्रसाद मिश्रले आर्थिक वर्ष २०७५÷७६ को लागि ९६ करोड रुपैयाँको बजेट सिलिङ प्राप्त भएको जानकारी दिए । उनले नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र विनियोजन विधेयकमा असार १४ भित्र लिखित सुझाव प्रस्तुत गर्न आग्रह गरे ।







































