चार वर्षपछि नेविसंघ भक्तपुरले पायो नेतृत्व, अर्को पक्षले जिल्ला अधिवेशन गर्ने

782

भक्तपुर । विवाद र रिक्तताका बीच चार वर्षपछि नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाल विद्यार्थी संघ भक्तपुरले सोमबार नेतृत्व पाएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधिले नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र दुई निर्वाचन क्षेत्रका सभापतिहरु १ का जीवन खत्री र २ का नारायणभक्त खायमलीको उपस्थितिमा नेविसंघ भक्तपुरको अध्यक्ष चयन गरेको हो ।
जसअनुसार बद्रीराम थापालाई भक्तपुरमा रहेका नेविसंघका सम्पूर्ण क्षेत्र, नगर, वडा, क्याम्पस कमिटीहरुलाई मिलाएर जिल्ला अधिवेशन गर्ने गरी नेविसंघ भक्तपुरको अध्यक्ष बनाइएको हो । जिल्ला अध्यक्षमा बद्रीराम आएसँगै दुई निर्वाचन क्षेत्रमा समेत अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय प्रतिनिधि मनिषजंग थापाले जानकारी दिए ।
उनका अनसार निर्वाचन क्षेत्र नं १ मा प्रमोद सुवेदी र २ नम्बरमा दिनेश घजुलाई अध्यक्ष बनाइएको हो । जिल्ला अध्यक्षसँगै क्षेत्रीय अध्यक्षहरुले पनि सबैसँग सहकार्य र समन्वय गरेर आआफ्नो समितिलाई पूर्णता दिने नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुलर्भ थापाले बताए ।
‘आन्तरिक विवाद र आधिकारिक तथा अनधिकृत विवादले गर्दा लामो समय भक्तपुरमा नेविसंघले नेतृत्व पाउन सकेन’, जिल्ला सभापति थापाले भने, ‘अहिले नयाँ अध्यक्ष आएका छन् । उनले सबैसँग समन्वय गरे जिल्ला समितिलाई पूर्ण दिनेछन् ।’
यता भक्तपुरबाट नेविसंघको केन्द्रमा प्रतिनिधित्व गर्नेहरुले सोमबार भक्तपुर नेविसंघको जिम्मेवारी दिइएको प्रक्रिया अवैधानिक भएको टिप्पणी गरेका छन् । केन्द्रीय समितिकै भाद्रमा म्याद सकिन लागेको बेला जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्नेमा टीके प्रथाबाट नेतृत्व ल्याउनु विधानसम्मत नभएको उनीहरुको भनाइ छ ।
यसअघि नेविसंघ केन्द्रबाट भक्तपुर नेविसंघको अध्यक्ष जिम्मेवारी दिइएका उद्धव खड्काले केही व्यक्तिहरुले आफूखुसी अध्यक्ष तोकेलाई आफूहरुले नमान्ने बताए ।
उनले आफूहरुले यहीं हप्तादिनभित्र वडा, नगर, क्षेत्र र कलेज अधिवेशज टुंग्याएर जिल्ला अधिवेशन गर्नेसमेत सुनाए ।
उनले आफूहरुसँग बहुमत रहेकोसमेत दावी गरे ।
कांग्रेस संस्थापन र प्रजातान्त्रिकबीच पार्टी एकता भएको धेरै भए पनि भक्तपुरमा अझै देउवा कांग्रेस संस्थापन कांग्रेसबीचको गुट उपगुट अझै बाँकी छ । पार्टीभित्रको गुटउपगुट जनवर्गीय संगठनसम्म पुग्दा विद्यार्थी संघले आठ वर्षदेखि आधिकारिक नेतृत्व पाउन नसकेको हो ।