काठमाडौँ : आदिअबाधी महिला भलिबल (एभीएल) प्रतियोगितामा चितवन टाइगर्स र नेपाल पुलिसले विजयी शुरुवात गरेका छन्।
तीन अमेरिकन खेलाडीको साथ पाएको चितवनले शनिवार भएको उद्घाटन खेलमा वसभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सेटमा हरायो। पहिलो र तेश्रो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै पनि सेट जित्न सकेन।
त्रिपुरेश्वरस्थित रखेपको कभर्डहलमा भएको खेलमा चितवन टाइगर्सले आर्मीलाई २५–२१,२५–१३, २५–२२ को सेटमा हरायो।
चितवन टाइगर्सले पश्चिमाञ्चलकी खेलाडी मन्जु गुरुङको कप्तानीमा तीन अमेरिकन खेलाडी कोर्टमा उतारेको थियो। त्यस्तै पश्चिमाञ्चलकै अरुणा शाहीले सेटरको भूमिकामा चितवनबाट खेलेकी थिइन्।
जानकी भण्डारीको कप्तानीमा कोर्टमा उत्रिएको नेपाल आर्मीमा भने न्यू डायमण्डबाट खेल्दै आएकी सेटर कृपा अधिकारी नयाँ खेलाडीको रुपमा थिइन्।
शनिवारै भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले पोखरा पिङकेजलाई २५–१३,२५–१४, २५–११ को सेटमा पराजित गर्यो।
नेपाल भलिबल संघ (एनभीए) र भारतको आदिअबाधी फाउन्डेसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय सहित ६ टोलीको सहभागिता छ। लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। प्रतियोगिता असोज १७ गते सम्म संचालन हुनेछ।
न्यू डायमण्ड, चितवन टाइगर्स र आर्मी समूह ए मा तथा एपीएफ, पुलिस र पोखरा पिङ्केज समूह बी मा छन्।
नेपाली भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशी रहेको एभिएल बिजेताले नगद ६ लाख प्राप्त गर्नेछ। त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्।
आइतवारको खेल:
न्यू डायमण्ड भर्सेस आर्मी – २:३० बजे
पुलिस भर्सेस एपीएफ – ४:३० बजे







































