काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले आज प्रस्तुत गरेको बजेटबाट सूर्तीजन्य वस्तु, मदिरा र सवारी साधनको मूल्य बढ्ने भएको छ।
आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चुरोट र मदिराको अन्त:शुल्क बढाएको बताएका छन्। अन्त:शुल्क वृद्धि गरिएसँगै ती वस्तुको मूल्य बढ्ने भएको छ।
‘मदिरा, चुरोट, सूर्तीजन्य पदार्थ जस्ता स्वास्थ्यका लागि हनिकारक वस्तुमा अन्त:शुल्क वृद्धि गरेको छु’, अर्थमन्त्री खतिवडाले बजेट भाषणका क्रममा भने, ‘कोका मिश्रित चकलेट, पर्फ्युम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्त:शुल्क लाग्ने व्यवस्था गरेको छु।’
साथै, अर्थमन्त्री खतिवडाले आजैका मितिदेखि चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने समेत बताएका छन्।
सरकारले गाडी र मोटरसाइकलको कर पनि बढाएको छ। कर बढाइएकाले सवारीसाधनको मूल्य बढ्ने भएको छ।
एक हजार सिसीभन्दा माथिका चारपाङ्ग्रे सवारीसाधन र एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकलहरुमा अन्त:शुल्क वृद्धि गरिएको हो।







































