काठमाडौं। नेपालमा विकास गर्ने विषयले ठूलो चर्चा पाइरहेको छ । विकासको मुख्य जोडबल भनेको नै सडक निर्माण गर्ने विषय बढी चर्चामा आइरहेको छ । विकासका लागि जहिले पनि सरकारले संरक्षित क्षेत्र तथा राष्ट्रिय वनको क्षेत्रलाई लिने गरेको छ । यसरी, हुने विकासले दीर्घकालसम्म असर पुग्ने सरोकारवालाहरूले बताउँदै आएका छन् ।
पछिल्लो समय सरकारले नेपालको पूर्वी भागदेखि पश्चिमी भागसम्मको क्षेत्रलाई जोड्ने गरी तीन राजमार्गहरू निर्माणको क्रममा छ । पहिलो राजमार्ग भनेको मध्यपहाडी लोकमार्ग जुन हिमालय पर्वतको क्षेत्रबाट पूर्व–पश्चिम जोडिनेछ । यसैले हिमालय पर्वतमा डोजरहरू चलिरहेका छन् । यस्तै, हिमालय पर्वतभन्दा तल्लो भाग अर्थात् कान्छो पहाडका रूपमा रहेको चुरे क्षेत्रको माथिल्लो भागबाट सरकारले मदन भण्डारी लोकमार्गका रूपमा पूर्वदेखि पश्चिम क्षेत्रसम्म सडक बन्दै छ । यो सँगै तराई मधेसको तल्लो भाग हँुदै हुलाकी राजमार्ग निर्माण कार्य भइरहेको छ ।
यीसँगै पूर्व–पश्चिम रेलमार्गको काम पनि भइरहेको छ । अहिले चालू अवस्थामा रहेको पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको कामसमेत भइरहेको छ । यसले मुलुकलाई तेर्सो रूपमा पाँच चिरा पार्नेछ । यो संरचानासँगै सरकारले उत्तर–दक्षिण जोड्ने सडक निर्माणको काम पनि सरकारले तदारुकताको साथ काम भइरहेको छ । यसरी, सकड निर्माणको कामले दीर्घकालसम्म जोखिम बढ्ने विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरुङले बताए । बर्सेनि पहिरोको रूप बढ्दै जाँदा जोखिममा परेको आफ्नो गाउँको भन्दा पनि तल्लो तटीय क्षेत्रको बस्ती नै जोखिममा परेको देख्दा धौवादी–६, नवलपरासीका ६६ वर्षीय केशर राईलाई दुःख लाग्ने गरेको छ ।

पहिरोमाथिबाट सडक निर्माण भइरहेको छ । राईको गाउँनजिकै रहेको केरुङ्गे खोलाको उद्गमस्थलमा ठूलो पहिरो गएको ३५ वर्षसम्म पहिरो रोकिएको छैन । पहिरोको जोखिममा आफ्नो गाउँ परेको भन्दा पनि उनी तल्लो क्षेत्र नवलपरासीको कावासोतीको बजार नै बग्ने गरी कुनै दिन केरुङ्गे खोला गयो भने सबै ‘सत्यानाश’ हुने सम्भावना देख्छन् । हुन त पहिरोका कारण २०३८ सालमा नै १३ घर विस्थापित भएर चोरमारामा बस्दै आएका छन् ।
‘घरबार नै नहुने अवस्था आएपछि पहिरोको मुखमा रहेको एउटा गाउँ नै विस्थापित भएको थियो,’ स्थानीय केशर भन्छन्, ‘त्यसपछि पहिरो रोकथामका लागि गरिएका प्रयासहरू सधैं असफल हुँदै गएका छन् ।’ पहिरोको बीचमा हरियो वन कार्यक्रमको सहयोगमा पहिरो रोकथामका लागि तारजाली भरेर पर्खाल लगाइएको थियो । यसरी, अघिल्लो लगाइएको पर्खाल पनि गत मनसुनको समयमा बगाएर लगेको छ । हरेक वर्ष तारजाली लगाउने र त्यसलाई बगाउँदै लैजाँदा तल्लो भागमा ग्राभेलको मात्रा अत्यधिक बढिरहेको छ । मनसुनको समयमा अत्यधिक वर्षा भयो भने सबै बगाएर लैजाने र कावासोती बजार नै जोखिममा पर्ने सम्भावना रहेको उनको बुझाइ छ ।
मध्यपहाडी लोकमार्ग जुन हिमालय पर्वतको क्षेत्रबाट पूर्व–पश्चिम जोडिनेछ, यसैले हिमालय पर्वतमा डोजरहरू चलिरहेका छन्
यस्तै, धौवादीकै स्थानीय ६८ वर्षीय जयबहादुर चितौरे थापा मगरले आफ्नो घरसँगैको राम्चे पहिरो हरेक वर्ष बढिरहेकाले त्यसको रोकथामका लागि तल्लो तटीय क्षेत्रबाट नै काम गर्नुपर्ने सुझाएका छन् । आफैंले २०३८ सालदेखि ठूलो मात्रामा पहिरो गएको देख्दै आएको बताउँदै उनी सरकार र अन्य निकायले हरेक वर्ष पहिरो रोकथामका लागि गरेको खर्च त्यत्तिकै खेर गएको बताउँछन् । उनका अनुसार हरेक वर्ष ठूलो पहिरो १० देखि २० मिटर तल सर्दै गएको छ । यस्तै पहिरोले राम्चेको पुरै भागलाई तानिसकेको छ ।
माथिल्लो तटीय क्षेत्रका मानिसको चिन्ताजस्तै कावासोती नजिकै केरुङ्गे खोलाको किनारमा बस्तै आएका स्थानीय हरेक रात त्रासमा बिताउँदै आएका छन् । जब वर्षा हुन सुरु गर्छ तब, उनीहरूलाई आफ्नो बस्ती नै पो बगाउने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । कावासोती नगरपालिका कोइलापानी, छोटेटाँडीस्थित लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मिना गुरुङका अनुसार वर्षाको समयमा हरेक वर्ष यहाँका बासिन्दा त्रासमा नै रात बिताउँछन् । तीन वर्षअघि हरियो वन कार्यक्रमको सहयोमा केरुङ्गे खोलाले कटान गरेको क्षेत्रको संरक्षणमा तारजालीको पर्खाल लगाएपछि केही राहत मिलेको उनी बताउँछिन् ।
नेपालका सहर र गाउँ बाढी र पहिरोको उच्च जोखिममा पर्नुको कारण हो, यहाँको जमिन । यहाँको भौगोलिक अवस्था र बाढीपहिरोबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रा.डा. नरेन्द्रराज खनाल नेपालका पहाडहरू संसारकै कान्छा भएकाले बाढीपहिरोले सजिलै बगाउने बताउँछन् । नेपाललगायत दक्षिण एसियाका पहाड अरू ठाउँका भन्दा निकै कान्छा अर्थात् ५० लाख वर्षका मात्रै भएकाले विगतका विपद् र मौसममा आएको परिवर्तन हेर्दा देशभरिका सबै नगरपालिका र नदी किनारका सहर जोखिममा रहेको उनको भनाइ छ ।
पहाड पहिरो र तराई बाढीका कारण जोखिममा छन् । गेग्रान, बलौटे माटो तथा चोकर मिलेर बनेको चुरेमा साना खोलामा बाढी आउँदा पहिरो बग्ने र खोलामा त्यो मिसिँदा तल झन् ठूलो बाढी गएर क्षति पु¥याउने भूगोलविद्हरूको भनाइ छ । पहाडमा पनि पहिरोले नदीहरू थुन्ने, माटो र ढुंगाको साथ पाएपछि साना नदीले पनि ठूला नदी थुनिदिने र त्यसरी केही समयका लागि बन्ने ताल फुट्दा ठूलो बाढी आएर तल्लो भागमा रहेका बस्ती बगाउने गरेको पाइन्छ । नेपालको वार्षिक जल प्रवाह २ अर्ब २५ करोड घनमिटर रहेकोमा त्यसको ८० प्रतिशत पानी असारदेखि असोजको बीचमा प्रवाह हुन्छ ।
जलाधार क्षेत्रको संरक्षणमा जोड
जलाधार क्षेत्रको अध्ययन अनुसन्धानमा तीन दशक बिताएका मधुकर उपाध्याय चुरे पहाडबाट निस्कने खोलाहरूले धार परिवर्तन गरिरहने भएकाले नियन्त्रण गर्न कठिन हुने बताउँछन् । २२ हजार ७९७ वर्ग किलोमिटर जलाधार क्षेत्र रहेको चुरेका खोला बढी चञ्चले रहेका र झरी परेको बेला बग्ने ग्रेगान र बालुवाले झनै उत्ताउलो बनाइदिँदा त्योभन्दा तल्लो क्षेत्रमा रहेका बस्तीलाई क्षति पु¥याउने गरेको उनको भनाइ छ । केरुंगे खोला पनि त्यसैको उपज भएकाले आउन सक्ने जोखिममा सचेत भएर बाढीपहिरोको रोकथामका लागि विशेष कार्यक्रम बनाउनुपर्ने उनको सुझाव छ ।
महाभारत शृंखलाबाट सुरु हुने कन्काई, बाग्मती, मेची, बबई, राप्ती र पश्चिम राप्तीजस्ता पहाडी नदीको जलाधार १६ हजार २५१ वर्गकिलोमिटर छ । यी नदी किनारमा रहेका बुटवल, हेटौंडा, सिन्धुली, काठमाडौंजस्ता सहर पनि जोखिममा छन् । गएको मनसुनमा भने हिमाली क्षेत्रबाट उत्पत्ति भएका कोसी, कर्णाली, नारायणी र महाकाली नदीले बढी क्षति पु¥याएका थिए । वर्षौं बगेर बाटो र किनारा स्थायी बनाइसकेका १ लाख ८ हजार १३३ वर्गकिलोमिटर जलाधार क्षेत्र भएका यी नदीले बढी क्षति पु¥याउनुमा पहाडी क्षेत्रबाट मिसिने तिनीहरूका सहायक नदी कारक रहेको विज्ञहरूको भनाइ छ । जलउत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक प्रकाश पौडेलका अनुसार बाढीपहिरो प्राकृतिक कारणले भन्दा मानिसको क्रियाकलापका कारण बढी आउने गर्छ ।
अमेरिकी सहयोग नियोग (यूएसएड) का वरिष्ठ विकास कार्यक्रमविद् सन्तोष ज्ञवालीको विचारमा पनि मानव बस्ती जोखिममा पर्नुको कारण अव्यवस्थित विकास र बसोबास नै हो । त्यसमाथि, बाढीपहिरो आउने ठाउँ ख्यालै नगरी बसोबास बनाउँदा प्राकृतिक प्रकोपले मानवीय क्षति बढी भएको अर्का एक विज्ञको भनाइ छ । बाग्मती, तिनाउ, नारायणीजस्ता नदीका किनारमा घर बन्नु र काठमाडौंको टुकुचा र धोबीखोलाजस्ता नदीलाई मिचेर घर बनाउनुले त्यस्तै देखिन्छ । जलाधारविज्ञ उपाध्याय चाहिँ प्रकृतिको नियमित प्रक्रियामा पर्ने बाढीपहिरोनजिक मानिस बस्न गएकाले मानवीय क्षति बढी
भएको बताउँछन् ।
यूएसआईडीका वरिष्ठ विकास कार्यक्रमविद् ज्ञवाली मानवीय क्षति कम गर्न जोखिम रहेका ठाउँमा बस्ती नबसाउने सुझाव दिन्छन् । त्यस्ता ठाउँमा बस्ती छ र हटाउन मिल्दैन भने सजगताका अरू उपाय अपनाउनुपर्ने उनको सुझाव छ । नदीको किनार वा पहिले नदी रहेको ठाउँमा घर बनाउँदा बढी मानवीय क्षति हुने गरेको जलस्रोतविद् अजय दीक्षितको ठम्याइ छ । त्यसैले उनको विचारमा नदीलाई पर्याप्त ठाउँ छाडेर मात्र बस्ती बसाल्नुपर्छ । पहिला बगेको स्थानमा पुनः खोला फर्कन सक्ने भएकाले सकभर त्यस्तो ठाउँमा बस्ती राख्नै नहुने उनको सुझाव छ ।
जलाधारविद् उपाध्याय स्कुल तहमै बाढीपहिरोका सबै पक्षबारे पढाउनु जोखिम न्यून बनाउने एउटा उपाय हुन सक्ने ठान्छन् । स्थानीय ज्ञानमा आधारित त्यस्तो पाठ्यक्रम बन्न राजनीतिक प्रतिबद्धता आवश्यक पर्ने उनको धारणा छ ।








































