काठमाडौं । पेप्सीकोला टाउनप्लानिंग निवासी ११ वर्षिया वालिका टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुटट्याइएको १० हजार रुपैयाँ मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिएकी छिन् । (टिया २७ कात्तिक २०६४ मा जन्मेकी हुन ।)
करियर विल्डिंग इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना बुबाको उपस्थितिमा सो रकम विरामीलाई सहयोग गरेर जन्मदिन मनाएकी हुन ।
स्काउट शिक्षक एवम् पत्रकार बलराम प्यासीको पहलमा वालिका टियाले सो रकम बुधबार मिर्गाैलारोग पीडित माझीलाई हस्तान्तरण गरेकी हुन ।
यसअघिका जन्मदिनमा टियाले विभिन्न विद्यालयमा अध्यनरत न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर मनाउँदै आएकी छिन ।
रामेछाप मन्थली गाउँपालिका १ कुँडारका ४६ वर्षिय मिर्गाैलारोग पीडित माझीको दुवै मिर्गाैलाले काम गर्न छोडेपछि उनी विगत डेढ वर्षदेखि शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हप्तामा ३ पटक डायलोसिस गर्दै आएका छन् ।
श्रीमती, एक छोरा र दुई छोरीका साथ कोटेश्वरमा डेरामा बस्दै आएका विरामी माझी विहान बेलुकीको समय स्थानीय सामाजिक क्लवको पानी वितरण कक्षमा रोजगारी गर्दै आएका छन् ।
हप्तामा ३ पटक गरिने डायलोसिसको लागि आवश्यक पर्ने औषधि खर्च जुटाउन उनलाई हम्मेहम्मे भएपछि स्थानीय समाजसेवीहरुले उनलाई धेरथोर आर्थिक सहयोग गर्दै आएका छन् । केही दिनअघि पनि उनलाई स्थानीय सुवेदी समाज कोटेश्वरले पनि आर्थिक सहयोग गरेको थियो ।







































