काठमाडौं ।
महिला, वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले वालवालिकाको जन्म दर्ताको लागि कानुनतः पहिचान खुलेमा नीजको बाबु या आमाको नागरिकता आवश्यक नहुने वताएकी छिन् ।
महिला, कानुन र विकास मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको व्यक्तिगत घटना दर्ता सम्बन्धी नेपालको कानुनी विश्लेषण पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री थापाले महिला, वालवालिका तथा व्यत्तिगत घटनाको दर्ताका लागि विद्यमान कानुन परिमार्जन र संशोधनको क्रममा रहेको बताइन ।
यसका लागि विभिन्न सरकारी तथा गैससरकारी संघसस्थाहरुसँग समन्वय गरी कानुन परिमार्जनको तयारी भइरहेको बताउँदै उनले भविष्यमा जन्म, मृत्यु जस्ता व्यक्तिगत घटनाको दर्तालाई ऐच्छिक नभई अनिवार्य बनाईनेमा ढुक्क हुन आग्रह गरीन ।
सांसद तिलक महतले जन्म मृत्यु र विवाहको पहिलो सूचना स्थानीय जनप्रतिनिधिलाई दिएमा सम्वनिधत वालवालिका र विवाहित व्यक्तिको हक सुनिश्चित हुने बताए ।
सांसद शशि श्रेष्ठले कुनै व्यक्तिको मृत्यु भईसकेतापनि समयमै मृत्यु दर्ता नगर्दा मृतकको नामबाट अर्कैले मतदान गर्ने गरेको पाइएको उल्लेख गर्दै यसले सरकारको लाचारीपन देखाउने बताइन ।
कार्यक्रममा केन्द्रीय पञ्जिकरण विभागका महानिर्देशक बेद बहादुर कार्कीले नेपालमा आधुनिक सूचना तथा प्रविधिको विकास नहुनाले जन्म र मृत्यु दर्ताका कार्यमा समस्या भएको बताए । जतिखेर चाहियो तयतिखेर बनाउने कारणले गर्दा कागजात बनाउँदा समस्या पर्ने गरेको कार्कीले बताए । विभागका निर्देशक विशाल भारद्धाजले नेपालीमात्रै नभई नेपालमा जन्मिएका विदेशीहरु जनिमँदा पनि जन्म दर्ता गर्ने गरेको बताए ।
कार्यक्रममा वोल्दै महिला, कानुन र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले विभिन्न देशहरुमा व्यक्तिगत घटना दर्ता सम्बन्धी विभिन्न प्रकारका फरक फरक तरिका रहेको उल्लेख गर्दै नेपालमा मैलिक हकमा उल्लेख भए पनि कार्यान्वयनमा भने कमजोरी रहेको बताए ।







































