जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा वृद्धि

0

फ्रान्कफर्ट — जर्मनीको औद्योगिक उत्पादन अक्टोबर महिनामा बजारको अपेक्षाभन्दा धेरै उच्च दरमा बढेको छ। फेडरल तथ्यांक संस्था डेस्टाटिस का प्रारम्भिक तथ्यांकअनुसार कारखाना उत्पादन महिनाभरि १.८ प्रतिशतले बढ्यो, जुन सेप्टेम्बरको १.१ प्रतिशत वृद्धिभन्दा उल्लेखनीय रूपमा बढी हो।

विश्लेषकहरूले ०.५५ प्रतिशत घट्ने अनुमान गरेका थिए। तर उत्पादनमा आएको यो वृद्धि मुख्यतः निर्माण र मेसिनरी क्षेत्रको मजबुत प्रदर्शनका कारण भएको डेस्टाटिसले जनाएको छ।

आईएनजीका वरिष्ठ अर्थशास्त्री कास्र्टेन ब्रेज्कीले भने, “दोस्रो लगातार महिनामा आएको वृद्धि औद्योगिक उत्पादनले तलबाट स्थिरता पाउन थालेको संकेत हो।”

सावधानी अझै आवश्यक

तर जर्मन अर्थतन्त्र मन्त्रालयले स्थिति सुधारतर्फ भए पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ। मन्त्रालयका अनुसार घरेलु अर्डर बलियो भए पनि विदेशी माग कमजोर छ। मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, “सेप्टेम्बर र अक्टोबरमा देखिएको सुधार उल्लेखनीय भए पनि वर्षको अन्तिमतिर औद्योगिक गतिविधिमा ठूला उछालको अपेक्षा गर्न सकिँदैन।”

क्षेत्रगत उतार–चढाव

  • निर्माण क्षेत्रमा उत्पादन ३.३ प्रतिशतले बढ्यो।

  • मेसिनरी तथा उपकरण उत्पादन २.८ प्रतिशतले वृद्धि भयो।

  • तर सङ्कटग्रस्त मोटर उद्योगमा १.३ प्रतिशत गिरावट आएको छ।

साथै, अक्टोबरमा औद्योगिक अर्डरसमेत बढेको डेस्टाटिसले जनाएको छ। यसमा जर्मनीले रक्षा सामग्रीको माग बढाएको तथ्यले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

अर्थतन्त्र सक्रिय बनाउन सार्वजनिक खर्च बढ्दै

चान्सलर फ्रिड्रिक मर्जले दुई वर्षको मन्दीपछि अर्थतन्त्रलाई पुनः गति दिन रक्षा र पूर्वाधार क्षेत्रमा सार्वजनिक खर्च विस्तार गर्ने नीति अघि सार्दै आएका छन्। तर केही आलोचकले उक्त रणनीति ढिलो गतिमा कार्यान्वयन भइरहेको टिप्पणी गरेका छन्।

जर्मन सरकारका अनुसार देशको अर्थतन्त्रले २०२५ मा ०.२ प्रतिशत मात्र वृद्धि गर्ने अनुमान छ। तर २०२६ देखि सार्वजनिक खर्चको प्रभावसँगै आर्थिक गतिशीलता पुनः बढ्ने अपेक्षा गरिएको छ।