जापानी सम्राट अकिहितोको जन्मोत्सवमा कार्यक्रम

379

काठमाडौं ।
नेपालको पुरानो मित्र एवम् सबैभन्दा बढी आर्थिक तथा प्राविधिक सहयोग गर्ने मुलुक जापानका सम्राट छुगु अकिहितोको ८४ औं शुभजन्मोत्सवको अवसरमा नेपालस्थित जापानी राजदूत मासाशी ओगावाले राजदूत निवास ताहाचलमा शुक्रबार स्वागत कार्यक्रम तथा दिवाभोज आयोजना गरेका छन ।
जापानी सम्राट अकिहितोको जन्म २३ डिसेम्वर १९३३ मा जापानको राजधानी टोकियोमा भएको हो । संसारकै पुरानो राजसंस्था रहेको जापानको उनी सन् १९८९ देखि सम्राट रहेका छन् । २३ डिसेम्बरमा क्रिसमसको पुर्वसन्धया पर्ने भएकोले जापानी राजदूतावासले शुक्रबार नै सो कार्यक्रम राखेको दूतावासले जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासांग’को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पुर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, डा.बाबुराम भट्टराईदेखि वर्तमान युवा तथा खेलकूदमन्त्री राजन केसी, उद्योगमन्त्री सुनिलबहादुर थापा, स्वास्थ्यमन्त्री दिपक वोहोरा तथा पुर्वमन्त्रीहरु डा.रामशरण महत, रामचन्द्र पौडेल, नविनद्रराज जोशीसहित नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले नेपाल जापानको पुरानो मित्र देश भएकोले पुरातनकालदेखि नै जनस्तर र राष्ट्रियस्तरमा रहेको सम्वन्ध भविष्यमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।
नेपाल र जापानवीचको सम्वन्ध निकै पुरानो भएतापनि सन् १९५६ देखिमात्रै कुटनैतिक सम्वन्ध कायम भएको थियो । दुईदेशवीचको सम्वन्ध अहिले ६१ वर्षमा चलिरहेको छ ।
जापानले नेपालको स्वास्थ्य, शिक्षा, कृषि, पुर्वाधार विकास लगायतका विषयमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।