जिसस गर्यो जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास तालिम

85

काठमाडौँ। जिल्ला समन्वय समिति काठमाडौंले जिल्ला भित्रका सबै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास सम्बन्धी तालिम प्रदान गरेको छ ।
कार्यक्रम जिससका उपप्रमुख शान्ती पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको कार्य सम्पदान प्रभावकारी बनाउनका लागि महिला नेतृत्व तथा क्षमता विकास कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले जिससले काठमाडौं जिल्लाको एकीकृत विकासका लागि काठमाडौंका सबै पालिकाहरुसँग आवश्यक सहकार्य, समन्वय र सहजिकरण गर्दै आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा महिला जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास भएपछि मात्र स्थानीय तहलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सकिने कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले गर्नुभएको कार्यपत्रमा उल्लेख गरिएको छ । स्थानीय तहको न्यायिक प्रक्रियामा सर्वसाधारणको पहुँच विषक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता डा. खरिता खनालले संविधान र कानुनले महिला जनप्रतिनिधिलाई अधिकार सम्पन्न बनाए पनि कतिपय विषयमा महिला जनप्रतिनिधिलाई ज्ञानको अभावमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहको न्यायिक कार्यले अदालतमा न्यायिक चाप कम भएको छ यसले स्थानीय तहको तल्लो तहमा नै न्यायिक पहुँच अभिवृद्धि भएको छ ।”
काठमाडौँ स्कुल अफ ल का सहप्रधाध्यापक मुकेश ढुंगानाले अन्तरपालिका सहकार्य कमजोर भएको भन्दै स्थानीय तहको कामलाई प्रभावकारी बनाउन अन्तरपालिका सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले संविधानको अनुुसूची ८ मा स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तहको विकास आयोजनाको प्रक्रिया, आधारभूत सरसफाइ, महिला उद्यमशिलता, लगायतका अधिकार प्रदान गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेतृत्व क्षमता विकासका प्रशिक्षक उषा मल्ल सिंहले सहभागिलाई नेतृत्व विकास गर्न आँट गरेर अगाडि बढ्न उर्जा प्रदान गर्नुभयो । जब आफैं अगाडि बढ्न सकिदैन तबसम्म कुनै पनि कुराको रुपान्तरण हुन नसक्ने भन्दै उहाँले हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिसस काठमाडौंका शाखा अधिकृत रामप्रसाद ओलीले कार्यक्रम सञ्चालन तथा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका सदस्यहरु राजकुमार बिडारी, सुदिप घिमिरे, सुन्तलि वाइवा, शोभा मगर र सपना परियार, काठमाडौं जिल्लाका विभिन्न पालिकाका महिला जनप्रतिनिधिहरु, कानूनी सहजकर्ताहरु र जिससका कर्मचारीहरुको सहभागिता रहेको थियो ।