‘संगीत अन्तर्राष्ट्रिय भाषा’—संस्कृतिविद् जोशी
काठमाडौं ।
९९ वर्ष प्रवेश गरेका शताब्दि पुरुष एवम् इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीले संगीत नै अन्तर्राष्ट्रिय भाषा भएको बताएका छन् ।
बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौंले आइतबार आयोजना गरेको दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियेगिताको उद्घाटनका अवसरमा जोशीले सो कुरा बताएका हुन ।
‘विभिन्न देशका विभिन्न भाषा भएतापनि संगीत चाँही यस्तो भाषा (माध्यम) हो, जसलाई कुनैपनि भाषा बोल्ने संसारको जुनसुकै ठाउँको मानिसले सजिलै बुझ्न सक्छ’, जोशीले भने ।
आइतबार आयोजित नृत्य तथा वाद्यवादन प्रतियोगिताले नेपालको पुर्वमेची देखि पश्चिम महाकालीसम्मको मौलिक संगीत र वाद्यवादनको संरक्षणमा जोड दिएको उल्लेख गर्दै जोशीले यस्ता मौलिक संस्कृति र संगीतको संरक्षण र जगेर्ना गर्नु सरकारको दायित्व भएको बताए ।
त्यस अवसरमा शताब्दि पुरुष एवम् इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशीलाई बेबिलोन स्रस्टा सम्मान २०७५ बाट सम्मान सम्मान गरिएको थियो ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेजबहादुर राई तथा विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले १५ हजार ५५५ नगद र ताम्रपत्रसहितको बेबिलोन स्रस्टा सम्मान २०७५ प्रदान गरेका थिए ।
इतिहास तथा संस्कृतिको जगेर्ना, प्रवद्र्धन तथा संरक्षणमा शताब्दि पुरुष जोशीले पुर्याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उनलाई बेबिलोन स्रस्टा सम्मान प्रदान गरिएको हो ।
यसैगरि आइतबार नै विद्यालयले आयोजना गरेको दोस्रो बेबिलोन उपत्यकाव्यापी राष्ट्रिय वाद्यवादन प्रतियोगितामा बागमती स्कूल, सुकेधारा पहिलो, ओडिसी इन्टरनेशनल एकेडेमी दोस्रो र डल्लु आवासिय माबि तेस्रो तथा डिलाइट किन्डरगार्टेन मावि स्कुलले सान्त्वना पुरस्कार पाएको थियो ।
विजयी विद्यालय तथा विद्यार्थीलाई राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेजबहादुर राई तथा संस्थापक प्रिन्सिपल राजु राईले ट्रफि र प्रमाणपत्र दिए ।
यसैगरि मौलिक नृत्य प्रतियोगितामा एनके सिंह मेमोरियल स्कुल पहिलो, गोल्डेन पीक हाइस्कुल दोस्रो, ग्लोबल पब्लिक स्कुल तेस्रो र डिलाइट किन्डरगार्टेन माविले सान्त्वना पुरस्कार जितेको थियो ।
संस्कार सहितको शिक्षामा जोड दिँदै आएको सो स्कुलले मौलिक संस्कृति तथा वाद्यवादनका सामग्रीहरुको संरक्षणमा टेवा पुरयाउने उद्धेश्यका साथ आयोजना गरेको प्रतियोगितामा उपत्यकाका २२ विद्यालयका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा व्याकुल माइलाले नेपालका मौलिक कला संस्कृति बाजागाजा र नृत्यहरु क्रमशः लोप हुन लागेको वर्तमान अवस्थामा बेबिलोन स्कुलले त्यसको संरक्षणको लागि आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरे ।







































