दमक । दमक — झापाको कचनकवल गाउँपालिका–७ स्थित दिप ज्योती सामुदायिक वन क्षेत्रभित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार अपरान्ह जलथल वन क्षेत्र भित्र हात्ती मृत अवस्थामा देखिएपछि सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, चन्द्रगढी लाई जानकारी गराएका थिए। पछिल्ला केही समययता सो वन क्षेत्रमा हात्तीको ओहोरदोहोर बढिरहेको जनाइएको छ।
वन कार्यालयबाट खटिएको प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण, मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी हात्तीको शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। हात्तीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
हात्ती प्रभावित क्षेत्रका रूपमा चिनिएको झापामा बारम्बार हात्ती मृत अवस्थामा भेटिनु दुःखद भएको संरक्षणकर्मी शङ्कर लुइटेलले बताउनुभयो। मृत अवस्थामा हात्ती भेटिए पनि गम्भीर अनुसन्धान नहुँदा संरक्षणमा चुनौती थपिँदै गएको उहाँको भनाइ छ।










































