ठगिएको रकम उठाउन ‘गुण्डा’ प्रयोग गरि अपहरण !

451

काठमाडौं। एक जना युवाले आफ्नो ठगिएको रकम उठाउन ‘गुण्डा’ प्रयोग गरि अपहरण गरेको खुलेको छ । उनले नवलपरासीका भगतबहादुर थापालाई अपहरण गरि बालाजु माछापोखरीस्थित एक होटलमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले उनको अपहरणमा संलग्न रहेका ४ जनालाई पनि पक्राउ गरिसकेको छ । प्रहरीले अपहरणकर्ताको नाम भने खुलाएको छैन । वैदेशिक रोजगारीका लागि एक युवाले थापालाई साढे १२ लाख रुपैयाँ बुझाएर उनी चोरबाटो हुँदै टर्कीसम्म पुगे । तर त्यहाँ उनले रोजगार पाएनन् र नेपाल फर्काइयो ।

टर्कीबाट नेपाल फर्किएका उनले आफ्नो रकम फिर्ता माग्दै थापालाई ताकेता गर्न थाले तर धेरै दिनसम्म पनि दिएको पैसा फिर्ता नभएपछि महानगरीय प्रहरी वृत्त बालाजुलाई जानकारी गराएका थिए ।

वृत्तले वैदेशिक रोजगारसम्बन्धी घटना हेर्न मूलुकी अपराध संहितामा प्रहरीलाई अधिकार नभएको बताउँदै छलफलसम्म गराईदिने भनेर आइतबार बोलाएको थियो । वृत्तमा आइतबार दुबै पक्षले गरेका छलफल निष्कर्षमा पुग्न नसकेपछि थापाको अपहरण गरिएको थियो ।

वृत्त बाहिर निस्कँदासाथ ठगिने युवाले स्थानीय गुण्डाको सहयोगमा थापालाई जर्वजस्ती नियन्त्रणमा लिएर माछापोखरीको एक होटलमा बन्धक बनाएका थिए । दिनभरीको प्रयासमा थापालाई होटलमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सापटी लिएको रकम नदिएपछि अपहरण

काठमाडौँमा आइतबार नै अर्काे अपहरणको घटना भएको छ । सापटी लिएको साढे दुई लाख रुपैयाँ फिर्ता नदिएपछि उनको अपहरण भएको थियो ।

अपहरणको खबर आउने वित्तिकै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र दरबारमार्गसहित काठमाडौं प्रहरीको सादा पोशाकको टोली आइतबार राति अबेरसम्म खोजी कार्यमा लागेको थियो ।

आइतबार राति अपहरित व्यक्ति लाजिम्पाटको एक घरमा बन्धक अवस्थामा फेला परेका थिए । उनको सकुशल उद्धार भएको छ । काठमााडौँ प्रहरी परिसरका अनुसार यस घटनामा समेत रकम उठाउन व्यक्तिको दिनदहाडै अपहरण भएको हो र यसमा समेत स्थानीय गुण्डाको प्रयोग भएको छ ।

यसका घटनाका पीडित र आरोपीका विषयमा अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।