‘ठुलो स्वरमा नचिच्याउनुस्, क्यान्सर हुनसक्छ’

724

भाषण गर्ने नेताहरुलाई चिकित्सकको सुझाव

बलराम प्यासी
काठमाडौं । चुनावको दिन जति नजिकिँदै जान्छ, त्यति नै राजनीतिक दलका नेताहरु घोक्रो फुटुन्जेल चर्काे स्वरमा चिल्ला र राम्रा कुरा गरेर मतदातालाई आफ्नो पक्षमा पार्न ठाउँठाउँमा भाषण गर्दै आएका छन् ।

एकाविहानैदेखि होस या राती अवेरसम्म खुल्ला चउरमा होस या कोठाभित्रका सभासम्मेलन र वैठकमा किन नहोस उनीहरु चुनावको मुखमा त एकछिन पनि चुप लागेर बस्न सक्दैनन ।

मतदाता, कार्यकर्ता, वुद्धिजीवि, भातृ, जनवर्गिय, महिला, विद्यार्थी संगठन लगायतका कार्यकर्तालाई सम्वोधन गर्नु, निर्देशन दिनु या मतदातालाई मिठा भाषणबाट फकाउनु राजनीतिक दलका नेताको विशेषता नै हो भन्दा फरक पर्दैन ।
अरुबेलामा चर्काे स्वरमा भाषण नगरेतापनि चिसो र खुल्ला चउर या मैदानमा जम्मा भएका सयौं कार्यकर्ता र सर्वसाधारणको कानसम्म आफ्नो भनाई पुर्याउन उनीहरु माइकलाई थप बल पुग्ने गरि नाभिदेखिको बल निकालेर बोल्ने गर्छन । तर नेताहरुको यस्तो बलपुर्वक गरिने भाषण खराव हो भन्छन चिकित्सकहरु ।

नेताहरुले बल गरेर, कनेर या घोक्रो फुट्नेगरि भाषण गर्दा उनीहरुको घाँटीको स्वर नलीमा क्यान्सर हुनसक्ने संभावना बढी हुने गरेको वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराल बताउँछन । भक्तपुर क्यान्सर अस्पतालका पुर्व निर्देशकसमेत रहेका डा.बराल पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सुधारवादी नेता विश्वेश्वरप्रसाद (विपि) कोइराला घाँटीको क्यान्सरका कारण मृत्यु भएको बताउँछन । कोइरालाको मृत्युपछि उनको घाँटीको क्यान्सरबारे कसैले अध्ययन÷अनुसन्धान गरे नगरेको आफुले नपाए पनि घाँटीको क्यान्सरबारे बताउँदा विपि कोइरालाको नाम अगाडि आउने गरेको उनी बताउँछन ।

त्यसैले विपि कोइरालाको नाउँमा चितवन भरतपुरमा विपि कोइराला क्यान्सर अस्पताल स्थापना गरिएको उल्लेख गर्दै डा.बराल अहिले सो अस्पतालमा घाँटी र टाउकोको क्यान्सर भएको धेरै विरामी उपचारको लागि आउने गरेको बताउँछन ।
नेताहरुले खुल्ला ठाउँमा ठुलो स्वरमा भाषण गर्दा हावामा भएका किटानु स्वासनली हुँदै स्वरनलीमा छिर्नेमात्रै नभई स्वरनलीमा अनावश्यक दवाव पर्न जाने नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेण्टरका अध्यक्ष तथा कार्यकारी निर्देशक डा.मदनकुमार पिया बताउँछन ।

भन्छन ‘यसले गर्दा धेरै भाषण गर्ने या बोल्ने नेताहरुमा घाँटीमा विभिन्न किसिमको इन्फेक्सन भएको पाइन्छ ।’ ‘त्यसो त राजनीतिक नेताहरु रक्सी, चुरोट र ध्रुमपान कम सेवन गर्ने पाइएकोले मात्रै अहिलेसम्म उनीहरुलाई क्यान्सरको लक्षण नदेखिएको हो, नत्र मद्यपान, ध्रुमपान, सुर्तीखैनी सेवन गर्ने र ठुलो स्वरमा भाषण गर्ने नेता लाई छिट्टै घाँटीको क्यान्सर हुने संभावना हुन्थ्यो’ डा. पिया भन्छन ।

तर नेताहरु नियमितरुपमा नीजि चिकित्सकसंग उपचार सरसल्लाह लिइराख्ने भएकोले उनीहरु आफ्नो स्वास्थ्यप्रति सजग हुने गरेको पनि चिकित्सकहरु स्विकार्छन ।

त्यसो त बढी बोल्नुपर्ने पेशा भएका शिक्षक, प्राध्यापक, कार्यक्रम सञ्चालक, रेडियो एंकरहरुमा धेरै र लामो समयसम्म बोल्दा घाँटीमा दवाव पर्न गई टन्सील, घाँटी सुक्ने (फ्यारेन्जाइटिस) र स्वर बस्ने (ल्यारेन्जाइटिस) समस्या धेरै भएको पाइएको नेपाल कोरिया मैत्री अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ जनरल फिजिसियन डा.दिपेन्द्रकुमार रौशन बताउँछन ।

शुरुको अवस्थामा घाँटी र स्वरनली सम्वन्धी समस्या भएमा एण्टिबायोटिकले ठिक हुने नत्र विस्तारै स्वर बस्दै जाने र घाँटीको क्यान्सर समेत हुने तिनैजना डाक्टरहरु डा.बराल, डा.पिया र डा.रौशन बताउँछन ।

नेपालको हकमा विभिन्न क्यान्सर अस्पतालको अलगअलग आँकडा अनुसार फोक्सो, पाठेघरको मुख, पेट (आमाशय, बोसेआन्द्रा, ठुलो सानोआन्द्रा) स्तन, हाड र प्रोस्टेटको क्यान्सरपछि टाउको र घाँटीको क्यान्सर भएको पाइएको छ ।
क्यान्सर भएको पहिलो र दोस्रो चरणमै उपचार हुन सके विरामी बाँच्नसक्ने अन्यथा अकालमै मर्नुपर्ने पनि चिकित्सक बताउँछन । औषधिउपचार (केमोेथेरापि), शलयक्रिया (सर्जरी) र विकिरण दिएर क्यान्सर भएको भाग सेक्ने विधि (रेडियोथेरापी) क्यान्सरको उपचारका तीन विधि हुन् ।