डटपेन बेच्ने फुच्चे कसरी बलिउडमा चम्किए ?

483

बलिउडमा इन्ट्रि गर्नु भनेको सामान्य कुरा होइन । इन्ट्रि गरेर पनि स्थापित हुनु त अझ सामान्य हुँदै होइन । त्यसैपनि बलिउडमा पुस्तेनी राज चलिरहेको छ । बलिउडमा बाबुबाजेका पुस्तादेखि राज गर्दैै आइरहेका सेलिब्रेटीहरुको हालिमुहाली छ ।

धनदौलत, प्रतिष्ठासँगै पुस्तान्तर हुर्कदै आएको कलाले निखारिएका अभिनेता, अभिनेत्रीहरु बलिउडमा छन् । उनीहरुको सामुन्ने कुम जोड्न पुग्नु सानो कुरा हुँदै होइन ।

तर जोनी लिभरको कथा फरक छ । उनी अत्यान्तै गरिब परिवारमा हुर्किएका हुन् । सडकबाट उठेर उनले बलिउडमा आफुलाई स्थापित मात्र गरेनन्, अपुरणिय हिस्सा नै ओगटे । अहिले उनको नाममा सैयौं फिल्म मात्र छैन, करिब ३० मिलियन डलर बराबरको सम्पति पनि छ ।

उनि १४ अगस्ट १९५७ मा भारतको आन्ध्र प्रदेशस्थित कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका थिए । जोनी लिभरका ३ बहिनी र २ भाईहरु छन् । परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो । त्यही कारण उनले पढ्न पाएनन्, ७ कक्षाभन्दा बढी । गरिबीले लखेट्दै उनलाई मुम्बई ल्याइपु¥यायो । परिवारमा उनका बुवाले मात्रै कमाएको पैसाले जिविकोपार्जन गर्न गाह्रो भएपछि उनले पनि पढाई छाडेर सानै उमेरमा नै काम गर्न शुरु गरेका थिए ।

पेट भर्नका लागि उनी मुम्बईको सडकमा डटपेन बिक्री गर्न थाले । तर, ग्राहकलाई तान्ने उनीसँग अनौठो कला थियो । जोनी लिभर बलिउड फिल्मको गीतमा नृत्य गर्दै र कलाकारको अभिनयको नक्कल गर्दै डटपेन विक्री गर्थे ।

यहि क्षमताको कारण उनले स्टेजमा आफ्नो प्रतिभा देखाउने अवसर पाए । संयोगले एक स्टेज शोमा उनलाई सुनील दत्तले देखे । सुनील दत्तले नै उनलाई फिल्ममा प्रवेश गराए, ‘दर्द का रिश्ता’मार्फत । ‘बाजीगर’ फिल्मपछि भने उनको चर्चा चुलियो । बाजिगर यता उनले तीन सय बढी फिल्ममा हास्य अभिनेताको रुपमा आफुलाई पेश गरे । जोनीले चार दशक लामो सिने करिअरमा ३ सय ५० भन्दा धेरै सिनेमामा काम गरेका छन् ।

उनका चर्चित सिनेमाहरुमा बाजीगर, मे खिलाडी तु अनाडी, करण अर्जुन, जुदाई, राजा हिन्दुस्तानी, कोयला, ईश्क, दुल्हे राजा, अनाडी नम्बर वान, हद कर दी अपने, दे दनादन, जोरु का गुलाम, नायक, हाउसफूल, दिलवाले लगायत पर्छन् ।

मुम्बईको सडकमा डटपेन बेच्ने उनी अहिले करोर्डाैँका मालिक बनेका छन् ।

उनले १९९० मा आफूले कमाएको पैसाले उनले मुम्बईको अंधेरिमा एक अपार्टमेन्ट किने । उनी अहिले पनि परिवारसँग त्यहि फ्ल्याटमा बस्छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार उनको घर भएपनि उनि त्यो अपार्टमेन्टमा बस्दै आएका छन् । अपार्टमेन्टमा उनी श्रीमती सुजाता, छोरी जिमी र छोरा जेसीसँग बस्दै आएका छन् । यो फ्ल्याटमा उनी छोरा जेसी जन्मेपछि सरेका थिए ।

अचम्मको कुरा त अझ यो छ की चलचित्रहरुमा फरर हिन्दी बोलेर दर्शकहरुलाई भरपुर हसाँउदै आएपनि उनको हिन्दी भाषा एकदमै कमजोर छ । आन्ध्र प्रदेशमा जन्मेका कारण उनको हिन्दी कमजोर थियो । उनको मातृभाषा तेलगु हो ।

उनले स्कुलमा पनि शुरुमा तेलगु भाषा नै पढेका थिए । यहि कारण उनलाई हिन्दी सिक्नका लागि निकै कडा मिहिनेत गर्नु परेको थियो ।