काठमाडौं– सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच आज दोस्रो पटक भएको वार्ता पनि असफल भएको छ। सरकारी पक्षले डा केसीले उठाएका प्रमुख मागका विषयमा कुनै पनि कुरा गर्न नचाहेपछि वार्ता असफल भएको हो।
डा केसीले विधेयकका २५ वटा बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन्। तर, सरकारी टोलीले उक्त विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो।
डा केसीका तर्फबाट वार्तामा सहभागी डा अभिषेकराज सिंहका अनुसार सरकार गम्भीर रुपमा प्रस्तुत नहुँदा वार्ता विफल भएको हो।
‘डा केसीको अनसनको २६औं दिनमा पुगिसक्दा पनि सरकार मागका विषयमा गम्भीर भएन,’ डा सिंहले भने, ‘विधेयकका विषयमा उहाँहरुले कुरै गर्न चाहनु भएन।’
उनले डा केसीले वार्ताका लागि लिएको लचकताको खिल्ली उडाइएको बताए।
डा केसीको ७ बुँदे मागको पहिलो नम्बर बुँदामा नै चिकित्सा शिक्षा विधेयकको विषय छ। जसमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय छन्।
डा केसीका माग पूरा गर्न आज दिउँसो साढे १ बजे पनि वार्ता भएको थियो। त्यो भन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा धर्मकान्त बास्कोटा र डा दिव्यासिंह साहबीच बालुवाटारमा छलफल भएको थियो।







































