डा. राजेन्द्र कोजूका ‘निर्भीक आवाजहरू’ सार्वजनिक 

0
भक्तपुर । राजनीतिक मौनता, विचारको खडेरी र प्रश्नविहीन समयबीच डा. राजेन्द्र कोजूको नवीनतम कृति ‘निर्भीक आवाजहरू’ सार्वजनिक भएको छ। सामयिक राजनीति, समाज, शिक्षा र मानवअधिकारका संवेदनशील विषयहरूमा निर्भीक रूपमा लेखिएका लेखहरूको यो सङ्ग्रह बिहीबार भक्तपुरमा लोकार्पण गरिएको हो।
राजनीतिक विश्लेषक, कवि, शिक्षाकर्मी, मानवअधिकारकर्मी तथा लेखक डा. राजेन्द्र कोजू (पीएचडी) ले वि.सं. २०७२ देखि २०८२ सम्म विभिन्न कालखण्डमा लेखेका विचारोत्तेजक लेखहरूको सङ्ग्रहका रूपमा यो पुस्तक प्रकाशित गरिएको हो। सत्ता, शक्ति र मौन सहमतिविरुद्ध प्रश्न उठाउने यी लेखहरू आजको समयको दस्तावेज जस्तै देखिन्छन्।
पुस्तकको लाेकार्पण वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, अर्थ–राजनीतिक विश्लेषक प्राडा गोपीलाल न्यौपाने, त्रिचन्द्र कलेजका प्राध्यापक प्राडा सुमन ढकाल, मानवशास्त्री रम्भा शर्मा र बाल विकास विज्ञ सानू अमात्यलगायतले संयुक्तरूपमा गरेका थिए।
लोकार्पण कार्यक्रममा वक्ताहरूले `विचारको राजनीति कमजोर बन्दै गएको´ वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले सत्ताकेन्द्रित राजनीति हाबी भइरहँदा प्रश्न गर्ने संस्कार हराउँदै गएको र यस्तो अवस्थामा डा. कोजूको लेखनले प्रतिपक्षी चेतनालाई जीवित राख्ने काम गरेको बताए।
कार्यक्रममा बोल्दै वक्ताहरूले डा. कोजूका लेखहरूले मुख्यधारको सुविधाजनक मौनतालाई तोड्दै फरक विचार निर्माण गरेको र समाजलाई असजिलो प्रश्न सोध्न बाध्य पारेको उल्लेख गरे। `यो पुस्तक केवल लेखहरूको सङ्ग्रह होइन, विचारलाई निष्क्रिय हुन नदिन गरिएको प्रयास हो,´उनीहरूको टिप्पणी थियो।
सञ्चारकर्मी हरिसुन्दर छुकां द्वारा सम्पादित तथा रोम्बस सेकेण्डरी स्कूल द्वारा प्रकाशित पुस्तकमा समसामयिक राजनीतिक, सामाजिक र बौद्धिक विषयमा लेखिएका २१ वटा लेखहरू समावेश छन्। लेखहरूमा सत्ता, नागरिक चेतना, लोकतन्त्र, शिक्षा र सामाजिक उत्तरदायित्वका विषयहरूलाई निर्भीक रूपमा खोतलिएको छ।
कार्यक्रममा नेशनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, कवि डिल्लीप्रसाद मुलतिहुनलगायतले पुस्तकले नयाँ पुस्तामा पार्न सक्ने प्रभावबारे चर्चा गरे । पुस्तकमा राजनीतिक रूपमा अत्यन्त संवेदनशील र निर्णायक समय मानिएकाे २०७२ पछिकाे समयमा लेखिएको लेखहरूमा संविधान निर्माणपछिको संक्रमण, संघीयताको अभ्यास, सत्ता समीकरणको अस्थिरता, नागरिक अपेक्षाको निरन्तर अपमान र वैचारिक दिशाहीनताको कालखण्डलगायत छन् ।
वक्ताहरूले ‘निर्भीक आवाजहरू’ विभिन्न सन्दर्भहरूको आलोचनात्मक दस्तावेज भएको चर्चा गरेका थिए । ‘निर्भीक आवाजहरू’ आजको समयलाई चुपचाप स्वीकार गर्न नमान्नेहरूका लागि मात्र होइन, प्रश्न गर्न डराउने समाजलाई झक्झक्याउने किताबका रूपमा आएको उनीहरूकाे भनाइ छ ।
लेखक डा. काेजुले  लोकप्रियताको डर नगरी, सत्ता र शक्तिसँग सम्झौता नगरी लेखिएका उनका लेखहरूले सुविधाजनक मौनतालाई तोड्ने प्रयास गरेकाे जानकारी दिँदै उचित सल्लाह र सुझावकाे अपेक्षा व्यक्त गरे ।
डा. कोजू साहित्य र शिक्षाका दुवै क्षेत्रमा सक्रिय स्रष्टा हुन्। कविता र शैक्षिक लेखनमार्फत उनले लामो समयदेखि समाज, चेतना र जीवनका विविध आयामलाई उजागर गर्दै आएका छन् । यसअघि उनले घोडा उसको वा ऊ घोडाको (कविता सङ्ग्रह), विशेषणमा बाँचेको देश (कविता सङ्ग्रह), हृदयका प्रतिबिम्ब ( संयुक्त कविता सङ्ग्रह), चित्र र चरित्र ( कविता सङ्ग्रह) र इमानको धरहरा ( कविता सङ्ग्रह) का साथै कक्षा १ देखि ८ सम्मका लागि शैक्षिक गणित पुस्तकहरू प्रकाशित गरिसकेका छन् ।
कार्यक्रममा सम्पादक हरिसुन्दर छुकांले डा. काेजूका लेखहरूकाे सम्पादन अनुभव सुनाउँदै लेखहरू सामयिक उद्गारहरू रहेको बताए ।