डोल्पा–१ मा दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा तय

0

डोल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा डोल्पामा एकाघरका दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनबहादुर बुढा लाई र नेपाली कांग्रेसले उनका दाइ कर्णबहादुर बुढा लाई उम्मेदवार बनाएको छ। डोल्पामा एउटै निर्वाचन क्षेत्र मात्र रहेको हुँदा दुवै दाजुभाइबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

कर्णबहादुर बुढा हाल कांग्रेसको सहमहामन्त्री हुन्। उनी २०७६ सालमा कांग्रेस प्रवेश गरेका थिए। त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य थिए र राप्रपाबाट तीन पटक प्रतिनिधिसभा चुनाव लडे पनि हारेका थिए।

धनबहादुर बुढा भने डोल्पाबाट तीन पटकसम्म निर्वाचित भएका थिए। उनी २०७० को संविधान सभा, २०७४ र २०७९ को आम निर्वाचनमा विजयी भएका थिए। उनी राप्रपाबाट एमाले र पछि एकीकृत समाजवादी हुँदै वर्तमान नेकपामा पुगेका हुन्।