दाङ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई गोली हानी हत्या गरिएको छ ।
प्रहरीले आफ्नै डिउटिमा रहेकी श्रीमतीको गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।
प्रहरी जवान धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्।
बाँकेको नेपालगञ्जमा सहायक हवल्दारका रूपमा कार्यरत धनमायाका श्रीमान यमबहादुर झाक्री साढे ८ बजेतिर गोली हानेर धनमायाको हत्या गरेको प्रजिअ सुवेदीले बताए।
धनमाया घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटीमै थिइन्। मोटरसाइकलमा आएका यमबहादुरले पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरी फरार भएका थिए। गोली प्रहारपछि भाग्दै गरेको अवस्थामा लमहीको अर्जुनखोलाबाट उनी पक्राउ परेको एक प्रहरी अधिकारीले बताए।
घाइते धनमायालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार धनमाया र यमबहादुरको सम्बन्धमा खटपट थियो। उनीहरूबीच छुडपत्रबारे मुद्दा जिल्ला अदालत दाङमा विचाराधीन छ। उनीहरूकी एक नाबालिग छोरी छन्।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।








































