स्याङ्जा — तनहुँ कारागारबाट फरार रहेका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्। नव युवा समूह (जेनजी)को आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट भागेका पुतलीबजार नगरपालिका–९ का २६ वर्षीय ईश्वर दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका दर्जीलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अपरेसन टोलीले दर्जीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ।








































