ताथलीमा जनप्रतिनीधिको एक वर्षे : जन अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता

277

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका जनप्रतिनीधिहरुले एक वर्षे कार्यकालको समीक्षा गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
स्थानीय तहको निर्वाचनबाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट विजयी बनेका जनप्रतिनीधिहरुले पदवहाली गरेको एक वर्षे कार्यकालको सोमबार समीक्षा गर्दै वडावास्ीबाट रायसमेत संकलन गरेका छन् ।
‘एक वर्षको यो कार्यकालमा हामीले कति काम गर्न सक्यौं, कति गर्न सकेनौं ? त्यसको समीक्षा गर्दै जनताको रायअनुसार जनताको हितका लागि काम गर्न हामी प्रतिवद्ध छौं ।’ कार्यक्रममा वडाध्यक्ष गणेश त्यातले भने ।
सो क्रममा वडाध्यक्ष त्यातले एक वर्षमा आफूहरुले गरेको विकास निर्माण, योजना तथा विभिन्न कार्यक्रमहरुको प्रगति विवरणबारेमा जानकारी दिँदै वडालाई अझ समृद्ध बनाउनका लागि विभिन्न योजनाहरु सार्वजनिक गरे ।
उनले सरकारले सिँहदरबारको अधिकार गाउँगाउँमा नारा तय गरे अनुसार वडालाई आर्थिक अधिकार नदिँदा वडावासीको मागलाई सम्बोधन गर्न मुश्किल भएको बताए । ‘वडाको विकासका लागि वडावासीको साथ, सल्लाह र सुझाव जरुरी छ, जनप्रतिनीधिहरुले जनताको प्रतिनीधित्व गर्ने भएकाले जनप्रतिनीधिलाई सहयोगको खाँचो छ ।’ वडाध्यक्ष त्यातले भने ।
उनले जनप्रतिनीधि भएपछि वडामा संकलन हुने राजस्वमा वृद्धि भएको बताउँदै वडालाई भ्रष्टाचारमुक्त वडा बनाउने काममा जनप्रतिनीधिहरुले अगुवाइ गरिरहेको बताए । ‘वडाको समृद्धिको लागि भ्रष्टाचारको अन्त्य हुनु जरुरी छ, यही आवश्यकता अनुसार वडालाई भ्रष्टाचारमुक्त बनाउनका लागि हामी क्रियाशील छौं, हामीले ‘ताथलीको पहिचान ः भ्रष्टाचारमुक्त वडा हाम्रो शान’ नारा तय गरेका छौं ।’ वडाध्यक्ष त्यातले भने ।
प्रतिवेदन अनुसार वडाले आर्थिक वर्ष २०७४ को साउन १ गतेदेखि २०७५ साल जेठ २७ गतेसम्ममा मालपोततर्फबाट रु. एघार लाख ३६ हजार ५ सय ६४, विविधबाट रु.७० लाख ५२ हजार २ सय ५ गरी जम्मा रु. ८१ लाख ८८ हजार ७ सय ६९ रुपियाँ संकलन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७३ साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्मा मालपोततर्फ रु. दश लाख ८६ हजार ३ सय ५३ रुपैंया ८४ पैसा, विविधतर्फ रु. ५२ लाख ४७ हजार ७ सय ३० गरी जम्मा रु. ६३ लाख ४६ हजार ८ सय ८८ रुपियाँ संकलन भएको छ ।

सो क्रममा सहकारीको तर्फबाट ताथली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एकबहादुर खत्रीले विकास निर्माणअन्तर्गतका योजनाहरुको अनुगमन गर्नुपर्ने र गुणस्तरीय कामको लागि वडाले अगुवाई गर्नुपर्ने सुझाव दिए । देवी माविका प्रधानाध्यापक राजाराम छुकांले शिक्षामा वडाको दूरदृष्टि आवश्यक भएकोले सोही अनुसारको काम गर्नुपर्नेमा जोड दिए भने राजनीतिक दलहरुको तर्फबाट नेपाल मजदुर किसान पार्टी ताथलीका नारायणभक्त न्हेमाफूकीले जनप्रतिनीधिहरु टोलटोलमा जानु जरुरी रहेको उल्लेख गरे ।
उनले योजनाहरुमा हुने ढिलासुस्तीले जनतामा निराशा छाएको बताउँदै योजना सञ्चालनलाई तीब्र बनाउनका लागि योजनासम्बन्धी अभिमुखीकरण गर्नुपर्ने बताए । त्यस्तै नेकपाका ईश्वर खड्काले वडाले दीर्घकालीन गुरुयोजना बनाउन तथा टुक्रे योजनाहरुलाई निरुत्साहित गर्न सकेको खण्डमा वडाको काम प्रभावकारी हुने जनाए ।
कार्यक्रममा आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित विभिन्न योजनाहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई बधाइ पत्र वडाध्यक्ष त्यातले प्रदान गरेका थिए ।
कार्यक्रममा वडा सदस्य कमला गिरीले लक्षित वर्गको लागि नगरपालिकाले विनियोजन गरेको रकम अनुसारको काम गर्न समस्या भएको बताउँदै जनताको अपेक्षा अनुसारको काम गर्दै जाने बताइन् । कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले पनि बोलेका थिए ।