ताथलीमा महिलालाई तालिमको प्रमाणपत्र

515

 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सम्पन्न दुई तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरुलाई प्रमाण पत्र दिइएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा महिला तथा दलित लक्षित बजेट अन्तर्गत सम्पन्न मिठाई तालिम र झोला बनाउने तालिमको संयुक्त रुपमा भएको समापन कार्यक्रमका अवसरमा प्रमाणपत्र प्रदान गरिएको हो ।
मिठाई तालिम उपभोक्ता समिति र झोला बनाउने तालिम उपभोक्ता समितिले ताथलीमा शनिबार आयोजना गरेको कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले तालिम लिएका महिलाहरुलाई प्रमाण पत्र प्रदान गरे ।
सो क्रममा वडा अध्यक्ष गणेश त्यातले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीपको आवश्यकता रहेको र तालिमबाट सीप दिने काम हुने बताउँदै आफूले सिकेको सीपलाई दैनिक व्यवहारमा उतार्नका लागि अनुरोध गरे ।
‘महिलाहरु सीपको अभावमा पछि परेका छन्, सीपले महिलाहरुलाई जाँगर पनि दिन्छ, साहस पनि दिन्छ, आफूले सिकेको सिपलाई दैनिक जीवन यापनको क्रममा लागू गरेको खण्डमा महिलाहरु आफ्नै खुट्टामा उभिन सक्षम हुन्छन् ।’ वडा अध्यक्ष त्यातले भने ।
वडा अध्यक्ष त्यातले आर्थिक वर्ष २०७५÷०७६ को नगरसभा र वडा नं. ९ का लागि विनियोजित बजेट, योजना र कार्यक्रमबारेमा जानकारी दिँदै अझै पनि असारे विकासको प्रवृत्तिमै नगरपालिका गुज्रिरहेको बताए । आफ्नो ठाउँको विकासका लागि महिलाहरुले पनि महत्वपूर्ण भूमिका निभाउन सक्ने बताउँदै उनले त्यसका लागि महिलाहरु चुलोचौकाको काममा मात्र सीमित हुन नहुने पनि बताए ।
कार्यक्रममा वडा सदस्य विद्यापति थापाले सीप भएका महिलाहरुमाथि घरेलु हिंसा पनि कम हुने भएकाले महिला सशक्तिकरणका लागि सीप जरुरी रहेको बताए भने महिला सदस्य कमला गिरीले महिलाहरुका लागि थुप्रै अवसरहरु रहेको बताइन् ।
उनीहरुले महिलाहरुलाई हरेक क्षेत्रमा अघि बढाउनका लागि सबैतिरबाट उत्साह दिने काम गर्न जरुरी रहेको बताउँदै महिलाका लागि विनियोजित रकम अनुसारको योजना सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरेका थिए ।
मिठाई तालिम अन्तर्गत ३२ र झोला बनाउने तालिममा १२ गरी ४४ महिलाहरुलाई तालिमको प्रमाणपत्र दिइएको सो कार्यक्रममा तालिम मिठाई तालिमका संयोजक शिला बासुकला र तालिमका सहयोगी हरिसुन्दर छुकांले पनि तालिमको बारेमा बोलेका थिए ।