– हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको ताथलीका स्थानीयले उदाहरणीय काम गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे वनमाला टाेलका स्थानीयले सडक निर्माण कार्यमा उल्लेखनीय सहभागिताका साथ जनश्रमदान गरि उदाहरणीय काम गरेका हुन् ।
ताथलीकाे वनमाला टाेलका स्थानीय समुदायले गणेश मन्दिर जाने १३ फिट चौडाइको सडकलाई पूर्णरूपमा स्तरोन्नति गरेका छन् । शनिबार टोलवासीहरूले श्रमदानमार्फत सडक फराकिलो बनाउने, ग्राभेल गर्ने तथा नाली खाेल्ने काम गरेका छन् ।
ताथलीकाे गणेश माध्यमिक विद्यालयकाे दक्षिणमा अवस्थित गणेश मन्दिर धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण छ। यहाँ दैनिक भक्तजन आउने गर्दछन् । विगत लामो समयदेखि सडक बन्न नसकेको हुँदा ओहोरदोहोर गर्न कष्टकर बन्दै आएको थियो। टोलका बासिन्दाहरूले यो समस्यालाई समाधान गर्न सामुहिक जनश्रमदान गरेको स्थानीय विष्णुभक्त वनमालाले बताए ।
जनश्रमदानमा महिलादेखि बालबालिका सम्मको सहभागिता रहेको थियाे । सडकको पुरानो अवस्था सुधारेर १३ फिट चौडाइमा ग्राभेल गरिएको स्थानीय वनमालाले बताए ।
यो सडक स्तरोन्नतिले मन्दिरमा हुने वार्षिक मेला तथा दैनिक पूजाआजालाई सहज बनाउने अपेक्षा गरिएको छ। साे मन्दिरमा वार्षिक रूपमा खट जात्रा समेत हुँदै आइरहेको छ । वनमाला टाेलवासीकाे उक्त कार्य अन्य टोलहरूका लागि समेत प्रेरणा दिने काम भएको स्थानीयले बताए । जनश्रमदान गर्ने काम घटिरहेको सन्दर्भमा वनमाला टाेलका स्थानीयवासीकाे काम उदाहरणीय भएको समाजका अग्रजहरूले प्रतिक्रिया दिएका छन् ।







































