Home निर्वाचन तीन नं प्रदेशको नामाकरणमा नेवा ताम्सालिङ राख्न पहल गर्ने : पोखरेल
काठमाण्डौं । उपप्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल तीन नं प्रदेशको नामाकरणमा नेवा ताम्सालिङ राख्नकालागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने वताएका छन् ।
टुडिखेलमा आयोजित ल्होछार महोत्सवलाई सम्वोधन गर्दै उनले तीन नम्वर प्रदेशको नामाकरण यहाँ बाहुल्य भएको जनसंख्याका आधारमा गर्न आफूहरुले सुझाउने जनाएका हुन् ।

जातिय पहिचान भएको सोनाम ल्होछारको बिदा कटौति भएकोमा उनले दुःख व्यक्त गर्दै आगामी वर्षमा भने विदा राख्न आफूले पहल गर्ने समेत आश्वासन दिएका थिए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ लालध्वजले तीन नं प्रदेश भनेको तामाङ समुदाय र नेवा समुदायको बाहुल्यता रहेको प्रदेश भएको हुनाले राज्यले बागमती र पशुपति राख्न खोजेर विवाद निम्त्याउन खोजेको आरोप लगाएका थिए ।
उनले यदि तीन नं प्रदेशको नाम नेवाताम्सालिङ नरहे नेवा र तामाङ समुदाय माथि अन्याय हुने हुँदा अधिकार प्राप्तिकालागि हुने सडक आन्दोलन गर्ने बताएका थिए ।

यस्तै कार्यक्रममा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले तामाङ समुदाय धेरै जागृत भैसकेको हुनाले अधिकारको सवालमा कसैले झुक्याउन खोजेमा परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।
सोनाम ल्होछारका अवसरमा टुडिखेलमा विभिन्न कलात्मक झाँकी प्रस्तुत गर्नुका साथै समुदायका ख्यातीप्राप्त कलाकारहरुले आफ्नो विभिन्न प्रस्तुती समेत गरेका थिए ।
सवै तामाङ एक होऔं भन्दै विभिन्न १०० भन्दा बढि तामाङ संस्थाहरुले एकैसाथ मिलेर आयोजना गरिएको उक्त कार्यक्रममा उनीहरुले आआफ्नो कला एवं कौशलको प्रस्तुती गरेको थिए ।
टृडिखेल वाहेक देशका सयौं स्थान र देश विदेशमा समेत ल्होसार महोत्सव आयोजना गरिएको थियो ।
Related