स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्याको घट्दो दरलाई रोक्ने उद्देश्यले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिने, दीर्घकालीन जनसङ्ख्या सन्तुलन कायम गर्ने तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने लक्ष्यसहित यो नीति ल्याइएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यका अनुसार “तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२” बमोजिम तोकिएका मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता उपलब्ध गराइनेछ । कार्यविधि अनुसार आवश्यक कागजात पूरा गरेका परिवारलाई दुई वर्षसम्म मासिक चार हजार रुपियाँ प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
पालिकाका अध्यक्ष खिमबहादुर थापाले दुई सन्तानलाई ईश्वरको वरदान मानिए पनि हाल जनसङ्ख्याको घट्दो दरलाई ध्यानमा राख्दै तेस्रो सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने नीति ल्याइएको बताउनुभयो ।
कार्यविधि अनुसार कालीगण्डकी गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने र २०८२ साल साउनपछि तेस्रो सन्तान जन्माएको परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । निवेदनसँगै आमाबुवाको नेपाली नागरिकताको प्रतिलिपि, तीन वटै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाहदर्ताको प्रमाणपत्र तथा बसाइँ सरी आएकाको हकमा बसाइँसराइ प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी जन्मिएको सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने शर्त समेत कार्यविधिमा उल्लेख गरिएको छ ।








































