काठमाडौं । नेपालका गान्धीको रुपमा परिचित समाज सुधारक तथा चर्खा प्रचारक स्वर्गीय तुलसी मेहर श्रेष्ठद्वारा स्थापित नेपालकै पुरानो मध्येको एक गान्धी आर्दश माद्यमिक विद्यालय,काँडाघारीको ६४ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । वि.सं.२०१० माघ २१ गते सो विद्यालयको स्थापना गरिएको थियो ।
करीव १ हजार ३०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयको वार्षिकोत्सवका अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले दीर्घसेवी शिक्षक, कर्मचारीलाई दीर्घसेवा पदकको साथै खेलकुद, हाजिरी जवाफ, चित्रकला, वक्तृत्वकला, कविता, गायन तथा हिज्जे प्रतियोगिताका विजयी भएका १ कक्षादेखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा त्यस विद्यालयमा अध्ययनरत १ हजार ३०० विद्यार्थीलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम समाजसेवी राधेश्याम खड्का, बीग प्लान ब्याग उद्योगको श्रीराम चौलागाई, शिक्षासेवी तथा व्यवसायीहरु रमेश तिवारी, मीन बहादुर खत्री र कृष्ण दाहालले सहयोग स्वरुप उपलब्ध गराएको करीव १० लाख मुल्य बराबरका स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
शिक्षासेवी एवम् व्यवसायीद्वय रमेश तिवारी र कृष्ण दाहालले आफ्ना स्वर्गीय आमाको नाउँमा ५ लाख रुपैयाँबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको पनि जानकारी गराए ।
कार्यक्रममा नगरप्रमुख थापाले नगरक्षेत्रभित्र रहेका १६ सामुदायिक ४० संस्थागत विद्यालयमध्ये सामुदायीकतर्फको उत्कृष्ट र पुरानो विद्यालयलाई अझै सुदृढ पार्न शिक्षकहरुले सरकारी कर्मचारीजस्तो नभई विद्यार्थीको मनोभाव बुझेर विद्यार्थीमैत्री शिक्षा दिन आग्रह गरे । विद्यालयलाई नगरक्षेत्रकैे नमूना सामुदायिक विधालय बनाउन आफुले सक्दो सहयोग गर्ने बचन पनि थापाले ब्यक्त गरे ।

व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम खड्काले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको स्वामित्वमा रहेको ५५ रोपनी जग्गामध्ये विद्यालयले चर्चेको १४ रोपनी जग्गा विद्यालयको नाममा पास गर्न अनुरोध गर्दै आएको बताए । विद्यालय साविक गोठाटार गाविस तथा हाल कागेश्वरी मनहरा नगरपालिका वडा न ९ मा पर्छ ।
विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राचार्य गणेश चन्दले प्रस्तुत गरेका थिए ।







































