काठमाडौंः पार्टी एकीकरणपछि पहिलोपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै अध्यक्षले आज मधेशलाई सम्बोधन गर्ने भएका छन्। पार्टीको प्रदेश २ कमिटिले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न लागेका हुन्।
रौतहटको गरुढामा केहिबेरमा सुरु हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्ने नेता प्रभु शाहले जानकारी दिए। दुवै अध्यक्ष नेपाली सेनाको हेलिकोप्टरबाट आज विहान रौतहट पुगिसकेका छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवस्थामा मधेशलाई हेर्ने सरकारको दृष्टिकोण र मधेशलाई दिइएको प्राथमिकताबारे जानकारी गराउने दुवै अध्यक्षको तयारी छ।
२ नम्बर प्रदेशमा सरकार बनाएको राजपा नेपालले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको र मधेशमा पृथकतावादी गतिविधि गरिरहेका सिके राउतसँग सरकारले सहमति गरेको अवस्थामा सत्तारुढ पार्टीले रौतहटमा जनसभा आयोजना गरेको हो। जनसभामा प्रदेशका आठै जिल्लाबाट कार्यकर्ताहरु सहभागीता रहनेछ।







































