थाहा खबर: विराटनगरमा नमुना आवास कार्यक्रम

249

विराटनगर : नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगरस्थित वार्ड ५ मा १०० नमुना आवास गृह बनाइने भएको छ। स्थानीय शंकरवारी चोक केशलीयानजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास  गृह बनाइन लागेको हो।

सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमबार शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरू देश निर्माणसहित समृद्धिको बाटोमा हिडेरहेको बताए। उनले भूमिहीन र विपन्न वर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए।

संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि केही गरौ भन्ने भावनाका साथ काम गरिरहेको दावी गरे। तराइ, मधेस समृद्धि कार्यक्रमले समेत गतिलिएको र चाँडैै नै जनताले राहत पाउँदै जाने मन्त्री पण्डितले बताए। उनले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा अगाडी बढिरहेको बताए। आफू सम्लग्न भएर महानगरका प्रमुखको अगुवाइमा भएका सवै कामले पूर्णता पाउने दावी समेत गरे। यसैगरी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरू हुँदै गएको बताए।

राज्यले जग्गा र धनीपुर्जा बाढ्ने भन्दा पनि निश्चित वर्ग र समुदायका व्यक्तिलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए। विराटनगर महानगरका प्रमुख भीम पराजुलीले आफ्ना कार्यकालमा थालनी भएका शिलान्याससहित जनहितका कार्यक्रमआफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले विराटनगर १९ र  ५ का सुकुम्वासी र विपन्न वर्गको हितका लागि गरिएको कार्यमा सहयोग गर्न आग्रह गरे। सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतको समेत सहभागिता रहने छ। 

नेपाल सरकारको २ करोड, विराटनगर महानगरको १ करोड, ह्यावीटेट नेपालको एक करोड ५० लाखको सहयोग रहने छ भने उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउनेछन्। कार्यक्रममा प्रदेशसभा सदस्य तथा कांग्रेस सचेतक केदार कार्की, नेपाली कांग्रेसका सचिव नागेश कोइराला, नेकपाका नेता ऋषिकेश पोखरेल, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, वडा ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, वाडा ५ का वडाध्यक्ष मीन आचार्य, नेपाली कांग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने, नेकपाका नगर अध्यक्ष सागर थापालगायतले आआफ्ना धारणा ब्यक्त गरेका थिए।

Source link