मध्यपुर : मध्यपुर थिमि नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत वितरणलाई निरन्तरता दिने बताएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सोमबार सम्झौता नवीकरण गर्दै मध्यपुर थिमीले नगरबासीलाई निःशुल्क रगत तथा रक्ततत्त्व वितरणलाई निरन्तरता दिएको जनाएको हो।
सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरे। सम्झौताअनुसार मध्यपुर थिमि नगरबासीले रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवा केन्द्रबाट निःशुल्क रगत तथा रक्ततत्त्व प्राप्त गर्न सक्नेछ्न्। आवश्यक शुल्क रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ।
मध्यपुर थिमि नगरपालिका र रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्त्व प्रदान गर्नेबारे सम्झौता भएको थियो।







































