मुस्ताङ । यसवर्षको दशैं लक्षित गर्दै मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा बजारमा आपूर्ति हुने भएको छ । चाडपर्व नजिकिँदै जाँदा तिब्बतबाट कोरला नाका हुँदै आउने भेडाच्याङ्ग्रासहित मुस्ताङमै उत्पादन भएका करिब साढे ११ हजार च्याङ्ग्रा र ६ सय हाराहारी भेडा बिक्री हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरतराज गौतमका अनुसार उपल्लो मुस्ताङका लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका तथा तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सबैभन्दा बढी च्याङ्ग्रा बजारमा पठाइनेछ । हाल जिल्लामा करिब १९ हजार च्याङ्ग्रा रहेकामा दशैंका लागि मात्र ११ हजार नजिक तयारी अवस्थामा राखिएको उनले बताए ।
गौतमले भने, “चरनक्षेत्र र गोठालाको अभावले कृषकलाई समस्या भइरहेको छ । नश्ल सुधार तथा व्यवस्थापनमार्फत मासु उत्पादनलाई प्रोत्साहन गर्ने काम भइरहेको छ ।” उनका अनुसार सूचिकृत १०० कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणी अर्यालले यसपटक करिब ६ सय भेडा बिक्रीको लागि तयार भएको बताए । उनले भने, “तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिन्छन् । मुस्ताङबाट बाहिरिने सबै भेडा तथा च्याङ्ग्राको जोमसोम र घाँसामा स्वास्थ्य परीक्षण गरेर मात्र पठाइन्छ ।”
उच्च हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्किने भएकाले मुस्ताङका च्याङ्ग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक हुने व्यापारीहरूको भनाइ छ । दशैं–तिहारमा पोसिलो मासुको रूपमा यसको माग बढ्ने गरेको व्यापारी नारायण सापकोटाले बताए । सामान्यतया भेडाच्याङ्ग्रा दुई–तीन वर्षपछि बिक्री योग्य हुन्छ ।
यो वर्ष रोज्जा च्याङ्ग्राको मूल्य मुस्ताङमै करिब ३५ हजार पुग्ने अनुमान गरिएको छ । माग नधान्ने अवस्थाले मूल्य बढ्ने र व्यापारीहरूले गोठमै नगद बुझाएर खरिद गर्ने प्रचलन बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत जिल्लाबाट व्यापारीहरू तीजपछिदेखि नै मुस्ताङ पुगेर खरिद सुरु गरिसकेका छन् ।








































