दिउसै कार चोरेर भागेपछि प्रहरीलाई सास्ती…

354

काठमाडौं । ड्राइभिंग सेन्टरमा तीनमहिना अगाडि कार चलाउन सिकेर गएको व्यक्ति हात सफा गर्ने (हात बसाल्ने) निहूँमा ड्राइभिंग सेन्टरको कार नै चोरेर भाग्छ भन्ने कुरा सुन्दा कसैले पत्याउनै सक्दैन, त्यो पनि नेपालमा ।

तर राजधानीको पेप्सीकोला चोकमा रहेको ड्राइभिंग सेन्टरबाट पुस २ गते फिल्मी शैलीमा सेकेण्ड ह्याण्ड कार चोरी भएको सुन्दा सुन्नेजति सबै अचम्मित थिए ।

पेप्सीकोला चोकस्थित हरिओम ड्राइभिंग सेन्टरमा कार सिक्न आउने प्रशिक्षार्थीहरुको लागि राखिएको कार, सिक्न आउने व्यक्तिले नै चोरेर भागेपछि सवारी धनी, ड्राइभिंग सेन्टर र प्रहरीलाई तीनदिनसम्म टाउको दुखाईको विषय बन्यो ।

करीव ६० घण्टा निरन्तर खटिएपछि अर्थात चोरी भएको चौथो दिन विहान चोरी भएको कारमात्रै भेटिएन, नयाँ तरीकाले कार चोरी गर्ने कार्यमा संलग्न मुख्य आरोपीसहित तीनजनालाई पक्रिन महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर सफल भयो ।

हरिओम ड्राइभिंग सेन्टरमा तीनमहिना अघि कार सिकेर गएका इलाम चिसापानी स्थायी घर भई हाल वीरेन्द्रचोक, काँडाघारीमा बस्दै आएका वर्ष २२ का सरोज पौडेलले पुस २ गते लाइसेन्स परीक्षाको प्राक्टिकलको लागि भन्दै ‘हात सफा गर्ने’ निहूँमा ड्राइभिंग सेन्टरबाट कार लिएर फरार भएका थिए ।

ड्राइभिंग सेन्टरका सञ्चालक शीवप्रसाद गौतमको नाउँमा रहेको बा ३ च ३०९९ नंम्बरको मारुती कार सो सेन्टरका प्रशिक्षक चालक विशाल आचार्यलाई लिएर गएका सरोजले सेन्टरको केही पर खहरेचोकमा पुगेपछि प्रशिक्षकलाई रेडबुल किन्न पठाएको र सोही मौका छोपी सरोजले कार लिएर भागेको प्रहरीले जनाएको छ । कार चोरी भएलगत्तै ड्राइभिंग सेन्टरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग काँडाघारीमा उजुरी गरेका थिए । त्यसलगत्तै प्रहरी कारको खोजीमा जुटेको थियो ।

२ गते ड्राइभिंग सेन्टरबाट अपरान्ह ३ बजे चोरी गरेको कार सरोजले ३ दिनसम्म भक्तपुर निलवाराही बोडेको जंगलमा लुकाएर राखेको र ५ गते विहान सो कार गौरीघाटस्थित एएआर मोटर ग्यारेजमा डेन्टिंग पेन्टिंग गरि स्वरुप परिवर्तन गर्न लैजाँँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, प्रहरी प्रभाग काँडाघारी र सवारीधनी समेतको सकृयतामा कार वरामद गरिएको थियो । अभियुक्त सरोजले सो कारको स्वरुप, रंग र नम्बर परिवर्तन गरि केही दिनभित्रै विक्री गर्ने योजनामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले कार वरामद गर्नुका साथै कार चोरी गर्ने कार्यमा संलग्न सरोज पौडेल तथा सो कार्यमा सघाउने मतियारद्वय पोखरा स्थायी घर भई पेप्सीकोलामा डिजे मासुपसल सञ्चालन गर्दै आएका वर्ष २१ को सुर्य कार्की र ओखलढुंगा घर भई मनकामना मासु पसल पेप्सीकोलामा काम गर्ने वर्ष १९ को पेशल कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कार चोरीको तरीका फिल्मीशैलीमा नौलो र अचम्म पार्ने खालको भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले बताउँछन ।

फिल्मी तरीकाले कार चोरी कार्यमा संलग्न तीनैजना अभियुक्तलाई ५ दिनको म्याद थपि थुनामा राखिएको र चोरीबारे थप अनुसन्धान भईरहेको नयाँबानेश्वर वृत्त प्रमुख, प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।