धनकुटामा ह्याट्रिकको प्रयासमा राजेन्द्र राई, युवा उम्मेदवार चुनौती

7

धनकुटा । धनकुटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक बनेको छ । चौथो पटक चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य राजेन्द्रकुमार राई संसदमा ह्याट्रिक गर्ने लक्ष्यसहित चुनावी होमिएका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका राई तेस्रो पटक पनि संसद छिर्नेमा आशावादी देखिन्छन् । २०७० सालमा तत्कालीन राप्रपाका उम्मेदवार सुनिलबहादुर थापासँग पराजित भएका राईले २०७४ मा भने उनै थापालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेका थिए ।

२०७४ सालको निर्वाचनमा राईलाई तत्कालीन नेकपा माओवादी केन्द्रको समर्थन रहेको थियो भने थापालाई नेपाली कांग्रेस, जनता समाजवादीलगायतको साथ थियो । २०७९ सालमा राई एमालेबाट उम्मेदवार बनेका थिए भने थापा नेपाली कांग्रेसबाट मैदानमा उत्रिएका थिए । गठबन्धनका दलहरूको समर्थन हुँदाहुँदै पनि थापा पराजित भएका थिए ।

२०७९ को निर्वाचनमा राईले कांग्रेसका थापालाई १ हजार ३ सय ९७ मतान्तरले हराएका थिए । राईले ३० हजार १ सय १ मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा भने राईले थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गरेका थिए ।

दुई पटक विजयी भइसकेका राईले धनकुटामा सुरु गरिएका विकास निर्माणका काम पूरा गर्न तेस्रो पटक जनताले विश्वास गर्ने दाबी गर्दै आएका छन् । उनका अनुसार अधुरा योजना पूरा गर्न निरन्तरताको विकल्प छैन ।

१७ उम्मेदवार, मुख्य प्रतिस्पर्धा पाँचबीच

धनकुटामा कुल १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका राजेन्द्र राईसँगै नेपाली कांग्रेसका दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा रहेका छन् ।

यस क्षेत्रमा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । सबै उम्मेदवारहरूले आफू विजयी हुने दाबी गरिरहेका छन् । अघिल्ला निर्वाचनको परिणाम जस्तो भए पनि यसपटक युवाको भूमिकालाई निर्णायक मान्दै कांग्रेस, रास्वपा र राप्रपाका उम्मेदवारहरू “धनकुटामा युवाको पालो” आएको दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति दिनेश राईले परिवर्तन र रूपान्तरणका लागि कांग्रेस मैदानमा उत्रिएको बताउनुभयो । उहाँका अनुसार कृषि र पर्यटनमा अपार सम्भावना बोकेको धनकुटाको विकास कांग्रेसको जितबाट मात्रै सम्भव छ ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेलले २०६४ सालमा तत्कालीन माओवादीको जस्तै माहोल अहिले पनि रहेको दाबी गर्दै यसपटक नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचार अन्त्य र राजनीतिक शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएको बताउनुभयो ।

नयाँ अनुहारको प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका दिनेश भण्डारी राजनीतिमा नयाँ अनुहार हुन् । ‘जेन–जी आन्दोलनपछि देशले युवालाई खोजिरहेको’ भन्दै राजनीतिमा प्रवेश गरेको बताउने भण्डारीले राजनीति व्यवसाय होइन, समाजसेवा बनाउने लक्ष्य रहेको बताए । धनकुटाको पुरानो प्रशासनिक र शैक्षिक केन्द्रको पहिचान पुनःस्थापना गर्ने उनको दाबी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विभत्सु थापा पनि राजनीतिक नवप्रवेशी हुन् । घरघरमा खानेपानी, टोलटोलमा पक्की सडक र रोजगारी सिर्जना गरी वैदेशिक पलायन रोक्ने उनको प्रतिबद्धता छ ।

धनकुटामा नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, नेकपा माओवादी लगायत विभिन्न दलबाट पनि उम्मेदवार छन् । स्वतन्त्रतर्फ मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङ उम्मेदवार कायम छन् ।

एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र रहने छन् । कारागार र निर्वाचनमा नखटिएका कर्मचारीका लागि २ वटा अस्थायी मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ । ती केन्द्रमा समानुपातिकतर्फ मात्र मतदान हुने व्यवस्था गरिएको छ ।