धनुषामा निधि र महतोको प्रतिष्ठाको लडाइँ

473

धनुषा – धनुषा क्षेत्र नं. ३ को चुनावी माहोल आकर्षक बन्दै गएको छ । यसअघि पहिलो संविधान सभा र दोश्रो संविधान सभा चुनावमा क्षेत्र नं. ३ रहेकै क्षेत्रमा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले जितेका थिए ।

प्रतिनिधि सभाको क्षेत्र नं. ३ समेत पर्ने यस क्षेत्रबाट आसन्न चुनावमा पुनः नेता निधिको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ मै मधेसका प्रभावशाली नेता तथा राजपा नेपालका संयोजक मण्डलका सदस्य राजेन्द्र महतोले उम्मेदवारी दिएपछि यस क्षेत्रको चुनावी गतिविधि रोचक बनेको हो । त्यस्तै यस क्षेत्रमा वाम गठबन्धनबाट नेकपा माओवादीबाट वर्तमान सरकारको विनाविभागीय राज्य मन्त्री समेत रहेका रामसिंह यादवको उम्मेदवारी परेको छ ।

दुई नम्बर प्रदेशकै अघोषित राजधानीको रुपमा रहेको जनकपुरबाट दुई प्रभावशाली नेता र एक विभागीय मन्त्रीको चुनावी भिडन्त सबैको लागि चासोको विषय बनेको छ । कसले जित्ला वा हार्ला भन्ने प्रतिक्षामा समेत यहाँका मतदाता साथै मधेसवासी छन् । निधि र महतोको लागि चुनावी प्रतिस्पर्धा प्रतिष्ठाको विषय बनेको छ । यस क्षेत्रको चुनावको विषयमा समाजिक सञ्जालमा निधि र राजपा समर्थक बीच जुहारी र गालीगलौजसमेत चल्ने गरेको छ ।

तीनवटै उम्मेदवारको आरोप प्रत्यारोप   

निधि र महतो आफ्नो विजय हुने दावी गर्दै एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रेका छन् । वाम गठबन्धनका उम्मेदवार यादव नागरिक परिवर्तन र नयाँ विकल्पको खोजीमा रहेको भन्दै आफू जित्ने निश्चित भएको दावी गर्छन् ।

स्थानीय बासिन्दा भएको हिसाबले मै जित्छु : निधि 

निधिले राजेन्द्र महतोलाई पर्यटक उम्मेदवारको संज्ञा दिइरहेका छन् । निधिले आफू स्थानीय बासिन्दा भएको र विगतमा यस क्षेत्रको लागि गरेको कामको मूल्यांकनका हिसाबले यहाँका नागरिकले आफ्नो पक्षमा मतदान गर्ने दावी गर्नुभयो । गत स्थानीय तहको चुनावमा जनकपुर उपमहानगरपालिकामा कांग्रेसको १० हजारभन्दा बढी मत राजपामा गएको र त्यो मत अब आफ्नो पक्षमा पर्ने निधिको दावी छ । त्यस्तै मुखियापट्टी मुसहरनियामा कांग्रेसबाट बागी बनेका स्वतन्त्र उम्मेदवार पनि आफ्नो पक्षमा रहेको निधीको भनाई छ । यस्तै संविधान संशोधन गर्न, जनकपुरलाई राजधानी बनाउन र मधेसको विकास समृद्धिका लागि यस क्षेत्रका नागरिकले आफूलाई अत्यधिक बहुमतले जिताउने निधिले दावी गर्नुभयो ।

म हारे मधेस आन्दोलन हार्छ, त्यसैले म जित्छु : महतो 

राजापा फोरम संयुक्त गठबन्धबाट उम्मेदवार रहेका राजेन्द्र महतोले सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरि भएको गोली काण्ड घटनालाई जोडेर निधिलाई मधेसीको हत्यारा भएको आरोप लगाउनुभयो । मधेस विरोधी संविधान घोषणामा पावरफुल नेताको कारण निधिको दोष रहेको र निधि जनकपुरको विकासको वाधक रहेको भन्दै महतोले आफू जित्ने दावी गर्नुभयो । महतोले आफू मधेस आन्दोलनको एक नायक भएकाले आफू हारे मधेस आन्दोलन हार्ने भएकोले मधेसी नागरिकले आफूलाई जिताएर मधेस आन्दोलनको एजेण्डासँगै मधेसको विकासको लागि आफूलाई जिताउने दावी गर्नुभयो ।

विकल्प चाहेकोले म जित्छु : यादव 

वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले यस क्षेत्रका नागरिकले युवा र नयाँ नेतृत्व चाहेकोले आफू जित्ने दावी गर्नुभयो । निधि र महतो सत्ताको दुरुपयोग गर्ने र नातावाद कृपावादमा अल्झने भन्दै यादवले त्यसको विकल्पमा नागरिकले आफूलाई रोज्ने बताउनुभयो । अब वाम गठबन्धनकै स्थायी सरकार हुने र देशले कोल्टो फेर्ने भएकाले पनि नागरिकले आफूलाई अत्यधिक मतले विजयी बनाउने यादवको भनाई छ ।

स्थानीय तहको परिणामअनुसार टक्कर

धनुषा क्षेत्र नं. ३ प्रतिनिधि सभामा धनौजी गाउँपालिका, नगराईन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. ९ र जनकपुर उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वडा पर्दछ । जसमा जनकपुर उपमहानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा रहेको छ । धनुषा क्षेत्र नं. ३ कुल ९७ हजार ५ सय २ मतदाता रहेका छन् ।

स्थानीय तहको चुनावमा यस क्षेत्रमा पर्ने नगराईन नगरपालिका र धनौजी गाउँपालिकामा नेपाली कांग्रेस, मुखियापट्टी मुसहरनियामा नेकपा एमाले र जनकपुर उपमहानगरपालिकामा राजपा नेपाल विजयी भएको थियो ।

यस परिणामलाई आधार मान्ने हो भने क्षेत्र नं. ३ भित्र पर्ने सबै स्थानीय तह र जनकपुर उपमहानगरपालिकाको १७ र विदेह नगरपालिकाको ९ नम्बर वडाको मत परिणाममा कांग्रेसले १८ हजार ४ सय ६३ मत प्राप्त गरेको छ । चुनावी तालमेल गरेको राजपाको १४ हजार ७ सय ४२ र फोरमको ३ हजार ३ सय ४६ मत जोडेर राजपा फोरम गठबन्धनको १८ हजार ८८ मत हुन्छ ।

त्यस्तै वाम गठबन्धन भित्र पर्ने नेकपा एमालेको १२ हजार ८ सय ५२ मत र नेकपा माओवादी केन्द्रको २ हजार ३ सय ८३ मत जोड्दा १५ हजार २ सय ३५ हुन्छ ।

यदि स्थानीय तहको चुनावको मत परिणमलाई आधार मान्ने हो भने कांग्रेसका उम्मेदवार निधि र राजपा फोरम गठबन्धनका संयुक्त उम्मेदवार महतो बीच कडा प्रतिस्पर्धा देखिन्छ । दुई दलको बीचमा झण्डै अढाईहजार मतले मात्र पछि परेको वाम गठबन्धनका उम्मेदवार रामसिंहलाई पनि प्रतिस्पर्धाभन्दा पछि मान्न मिल्दैन । तर स्थानिय निर्वाचनमा पुर्व सांसद संजय शाहको समर्थन राजपामा रहेका कारण राजपाले स्थानिय निकायमा पनि राम्रै हात परेको थियो हाल भने संजय शाहको समर्थन विमलेन्द्र निधि प्रति भएका कारण निधिले बहुमतका साथ जित्ने देखिन्छ ।