नख्खु कारागारबाट फरार भारतीय अभियुक्त विराटनगरमा पक्राउ

0

काठमाडौंको नख्खु कारागारबाट फरार अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट भागेका ५५ वर्षीय निपुन गुप्ता मोरङ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतका मनोरलाल गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। तीन महिनासम्म फरार रहेका उनी मोरङको विराटनगर महानगरपालिका–७ मा लुकिछिपी बसिरहेको सूचनाका आधारमा आइतबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीले गुप्तालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनः नख्खु कारागार पठाइने जानकारी दिएको छ।