भक्तपुर । चाँगुनारायण नगरपालिका भएपछि भक्तपुरको ताथलीस्थित देवी माविका प्रधानाध्यापक राजाराम छुकांले अनुभव गरेको एक विषय हो, विद्यालयमा रहेको बालविकास(इसिडी) कोटा ।
स्थानीय तहको निर्वाचनबाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट विजयी बनेका जनप्रतिनीधिहरुले पदवहाली गरेको एक वर्षे कार्यकालको सोमबार समीक्षा कार्यक्रममा उनले नगरपालिका भएपछि सुविधा बढ्नुको सट्टा भएको सुविधासमेत कटौती भएको कुरा यसरी व्यक्त गरे, ‘पहिला गाविस हुँदा बरु, गाविसले आफ्नो आम्दानीबाटै स्कुलमा बालविकास(इसिडी) कोटाका लागि रकम दिएको थियो, नगरपालिका भएपछि त त्यो कोटा पनि रहेन, नगरपालिका भएपछि भइरहेको कोटा पनि गुम्यो । त्यसका लागि पटकपटक नगरपालिका जाँदा पनि सम्बोधन भएन, नगरपालिकाले कोटै खाइदियो ।’
विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दीको बन्दोबस्त नहुँदा समस्या भएको जानकारी दिँदै त्यसका लागि वडाले नगरपालिकामा समन्वय गर्नु पनि जनप्रतिनीधिलाई आग्रह गरे ।
उनले जनप्रतिनीधिलाई अधिकार सम्पन्न गर्नुपर्नेमा नीति मै खोट रहेको अनुभव जनताले गरिरहेको बताउँदै वडामै खर्च व्यवस्थापन गर्ने प्रावधान नुहँदा सिँहदरबारको अधिकार गाउँमा आउन नसकेको जनाए ।
उनको भनाइमा सहमति जनाउँदै चाँगुनारायण नपा वडा नंं ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले भने, ‘सरकारले सिँहदरबारको अधिकार गाउँगाउँमा नारा तय गरे अनुसार वडालाई आर्थिक अधिकार नदिँदा वडावासीको मागलाई सम्बोधन गर्न मुश्किल भएको छ । वडाको विकासका लागि वडावासीको साथ, सल्लाह र सुझाव जरुरी छ, जनप्रतिनीधिहरुले जनताको प्रतिनीधित्व गर्ने भएकाले जनप्रतिनीधिलाई सहयोगको खाँचो छ ।’
सो क्रममा वडाध्यक्ष त्यातले एक वर्षमा आफूहरुले गरेको विकास निर्माण, योजना तथा विभिन्न कार्यक्रमहरुको प्रगति विवरणबारेमा जानकारी दिँदै वडालाई अझ समृद्ध बनाउनका लागि विभिन्न योजनाहरु पनि सार्वजनिक गरे ।
उनले जनप्रतिनीधि भएपछि वडामा संकलन हुने राजस्वमा वृद्धि भएको बताउँदै वडालाई भ्रष्टाचारमुक्त वडा बनाउने काममा जनप्रतिनीधिहरुले अगुवाइ गरिरहेको बताए । ‘वडाको समृद्धिको लागि भ्रष्टाचारको अन्त्य हुनु जरुरी छ, यही आवश्यकता अनुसार वडालाई भ्रष्टाचारमुक्त बनाउनका लागि हामी क्रियाशील छौं, हामीले ‘ताथलीको पहिचान ः भ्रष्टाचारमुक्त वडा हाम्रो शान’ नारा तय गरेका छौं ।’ वडाध्यक्ष त्यातले भने ।
प्रतिवेदन अनुसार वडाले आर्थिक वर्ष २०७४ को साउन १ गतेदेखि २०७५ साल जेठ २७ गतेसम्ममा मालपोततर्फबाट रु. एघार लाख ३६ हजार ५ सय ६४, विविधबाट रु.७० लाख ५२ हजार २ सय ५ गरी जम्मा रु. ८१ लाख ८८ हजार ७ सय ६९ रुपियाँ संकलन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७३ साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्मा मालपोततर्फ रु. दश लाख ८६ हजार ३ सय ५३ रुपैंया ८४ पैसा, विविधतर्फ रु. ५२ लाख ४७ हजार ७ सय ३० गरी जम्मा रु. ६३ लाख ४६ हजार ८ सय ८८ रुपियाँ संकलन भएको छ ।
सो क्रममा सहकारीको तर्फबाट ताथली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एकबहादुर खत्रीले विकास निर्माणअन्तर्गतका योजनाहरुको अनुगमन गर्नुपर्ने र गुणस्तरीय कामको लागि वडाले अगुवाई गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ताथलीका नारायणभक्त न्हेमाफूकीले जनप्रतिनीधिहरु टोलटोलमा जानु जरुरी रहेको उल्लेख गरे । उनले योजनाहरुमा हुने ढिलासुस्तीले जनतामा निराशा छाएको बताउँदै योजना सञ्चालनलाई तीब्र बनाउनका लागि योजनासम्बन्धी अभिमुखीकरण गर्नुपर्ने बताए । त्यस्तै नेकपाका ईश्वर खड्काले वडाले दीर्घकालीन गुरुयोजना बनाउन तथा टुक्रे योजनाहरुलाई निरुत्साहित गर्न सकेको खण्डमा वडाको काम प्रभावकारी हुने जनाए ।
कार्यक्रममा आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित विभिन्न योजनाहरुलाई सफलतापूर्वक सम्पन्न गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई बधाइ पत्र वडाध्यक्ष त्यातले प्रदान गरेका थिए ।
कार्यक्रममा वडा सदस्य कमला गिरीले लक्षित वर्गको लागि नगरपालिकाले विनियोजन गरेको रकम अनुसारको काम गर्न समस्या भएको बताउँदै जनताको अपेक्षा अनुसारको काम गर्दै जाने बताइन् । कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले पनि बोलेका थिए ।







































