भक्तपुर
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नगरपालिकाले नगरवासीलाई सुशासन र प्रभावकारी विकास दिनुपर्नेमा जोड दिएका छन् ।
नपामा जनप्रतिनिधिहरुको पद बहाली भएको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित अन्तरक्रियामा उनले भने, ‘विकास निर्माण गरेरमात्रै चुनाव जितिन्न । प्रभावकारी विकास गर्न सकिएन भने अर्को चुनावमा हार्ने निश्चित छ ।’
पैसा कमाउने भए व्यापार व्यवसाय गर्नसमेत सांसद बस्नेतले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गरे ।
भक्तपुर क्षेत्र नं २ ख का प्रदेश सांसद शशिजंग थापाले जनताले जनप्रतिनिधिहरुको काम कारबाहीको मूल्यांकन गरिरहेकोले जनसहभागितामा मात्रै काम गर्न सुझाव दिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले वडा तहसम्मै एकीकृत सम्पत्ति कर असुल गर्न सुरु गर्ने सूर्यविनायक काठमाडौं उपत्यकाकै पहिलो नगरपालिका भएको दावी गरे ।
उनले नगरको आन्तरिक राजस्व वृद्धि गर्न नपाले पसल व्यवसाय दर्ता अभियानलाई कडाइका साथ अघि बढाएको जानकारी दिए ।
उनका अनुसार गएको वैशाखसम्म सात करोड १५ लाख रुपैयाँ आन्तरिक आय भइसकेको छ । नपाको नगर परिषद्ले आठ करोड ४८ लाख ५० हजार राजस्व संकलन हुने अनुमान गरेको थियो । बैशाखसम्मको आम्दानी हेर्दा करिब १० करोड रुपैयाँ आन्तरिक आय हुने प्रमुख थापाको भनाइ छ ।
उनले नपाको कार्य प्रभावकारी रुपले सञ्चालन गर्न भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि, पूर्वप्राथमिक विद्यालय व्यवस्थापन, सहकारी, कृषि बजार तथा व्यवसाय प्रवद्र्धन, व्यवसाय कर, निर्माण व्यवसाय, जग्गा विकासलगायत १२ वटा छुट्टाछुट्टै ऐन तथा निर्देशिका तर्जुमा गरिएको सुनाए ।
नपाकी उपप्रमुख जूना बस्नेतले नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माणलाई प्राथमिकता दिएर कार्य गर्दै आएको जानकारी दिइन् ।







































