नागपञ्चमी : किन र कसरी मनाईन्छ ?

1058

नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ।

नाग पञ्चमीको विशेषता
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।

नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ। पश्चिम नेपालका अधिकांश जस्तै:- दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ।

नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ।