प्रदेश ७ को प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी घोषणा गरेको छ।
प्रदेशको नाम सुदुरपश्चिम र राजधानी कैलाली जिल्ला गोदावरी क्षेत्रलाई तोकेको हो।
नाम र राजधानीबारे सुझाव संकलन गर्न गठन गरिएको समितिका संयोजक तारालामा तामाङले शुक्रबारको प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव प्रदेश सांसदद्वय शान्ति नेपाली र वीरमान चौधरीको समर्थनमा दुई तिहाइ मतबाट स्वीकृत भएपछि प्रदेश ७ ले नाम र राजधानी पाएको हो।
सुदुरपश्चिम नाम राख्ने र गोदावरी क्षेत्रलाई राजधानी बनाउने पक्षमा ३८ सांसदले मतदान गरेको संयोजक तामाङले सेतोपाटीलाई बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका २ सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएनन्।
राजधानी सबैलाई पायक पर्ने ठाउँमा नराखिएको भन्दै कांग्रेस र राजपाले विरोध गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५, ०४:५०:००







































