काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा बाजागाजा, जुलुस वा अन्य तडकभडक नगर्न स्पष्ट चेतावनी दिनुभएको छ।
सञ्चारकर्मीहरूसँग सोमबारको कुराकानीमा भण्डारीले भनिन, “उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा, जुलुस वा अन्य तडकभडक पूर्ण रूपमा कानूनले निषेध गरेको छ। आचारसंहिता पनि यसलाई निषेध गर्छ। यसलाई उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिनेछ।”
उनले उम्मेदवारहरूलाई आचारसंहिताको पालना गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गर्दै भन्नुभयो, “निष्ठापूर्वक आचारसंहिता पालन गरेर दर्ता गर्नुभयो भने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुनेछ। मतदाता, सरोकारवाला र विदेशमा रहेका नागरिकहरूले पनि अब हुने निर्वाचनमा शंका गर्नुपर्ने अवस्था हुनेछैन।”
भण्डारीले थप भन्नुभयो कि निर्वाचन समयमै हुनैपर्ने प्रक्रिया भएकाले यसको विकल्प केवल निर्वाचन मात्रै रहेको छ।







































