
काठमाडौं। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित व्यवपस्थाविपरीत हुने गरी सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ सञ्चालनको निर्देशिका स्वीकृत गरेको छ। बजेट वक्तव्यमा एउटा निर्वाचन क्षेत्रमा ५ वटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि मन्त्रिपरिषदले ३२ वटासम्म कार्यक्रम सञ्चालन गर्न सक्ने गरी खुकुलो निर्देशिका स्वीकृत गरेको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरी असोज ५ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाअनुसार ४ करोड रुपैयाँबाट बढिमा ३२ वटा कार्यक्रम सञ्चालन गर्न सकिन्छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार कार्यक्रम अघि बढाउने हो भने दुईवटा आयोजना कम्तिमा ५०/५० लाख रुपैयाँका हुनेछन्। बाँकी ३ करोड रुपैयाँ १० लाखका दरले ३० वटा आयोजनामा छर्न सक्ने ‘स्पेस’ दिइएको छ।
चालु आर्थिक वर्षको बजेट बक्तव्यको बुँदा नं १८० मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको प्रस्ताव गरिएको छ। बजेटमा भएको व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिको समन्वय र सहजीकरणमा कार्यान्वयन हुने गरी प्रदेश तथा स्थानीय तहको समेत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
यस्तै यस कार्यक्रमअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा तीन वर्षभित्र सम्पन्न हुने गरी सडक, खानेपानी, सिँचाई र नदी नियन्त्रणसम्बन्धि बढिमा ५ वटा आयोजना सञ्चालन गर्ने बजेटमा उल्लेख छ। तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्ने र कार्यक्रम कार्यान्वयन गर्न सकिने क्षेत्र भने बजेट र निर्देशिकामा समान छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सबै आयोजना टुक्रे किसिमका नहुन् भन्नकै लागि दुईवटा ठुला आयोजना अनिवार्य गरिएको दावी गरे। ‘दुई वटा आयोजना कम्तिमा ५० लाख रुपैयाँको र बाँकी आयोजना न्यूनतम १० लाख रुपैयाँ बजेटसहितको हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ,’ उनले भने, ‘यसपटक निर्देशिकामार्फत धेरै कुरा नियमन गर्न खोजिएको छ, पहिलेभन्दा राम्रो भएको छ भन्ने हाम्रो विश्वास हो।’
कार्यक्रम छनौटमा सांसदलाई तजबिजी अधिकारी
यसरी कार्यान्वयन हुने कार्यक्रम छनौटमा प्रत्यक्ष निर्वाचित सांसदको तजबिजी अधिकार रहने व्यवस्था निर्देशिकामा छ। सांसदहरु मार्फत कार्यान्वयन गरिने कार्यक्रम प्रभावकारी नहुने र अति राजनीतिकरणको शिकार हुने भन्दै आलोचना भइरहेका बेला खुकुलो व्यवस्थासहितको निर्देशिका मन्त्रिपरिषदले स्वीकृत गरेको हो।
यद्यपि मन्त्रालयले भने स्थानीय तहले कार्यक्रम कार्यान्व गर्ने भुक्तानीको अधिकार राख्ने भएकाले पहिलेजस्तो दुरुपयोग नहुने दावी गरेको छ। ‘सांसदहरुको भूमिका कार्यक्रम छनौटमा मात्रै हो, बाँकी सबै काम कार्यक्रम कार्यान्वन हुने स्थानीय तहले नै गर्नेछ,’ नेपालले बिजमाण्डूसँग भने।
निर्देशिकाको व्यवस्थाअनुसार प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा त्यही निर्वाचन क्षेत्र रोजेका समानुपातिक तथा राष्ट्रिय सभाका सांसदसमेतको प्रतिनिधित्वमा आयोजना छनौट समिति बन्नेछ। समितिमा त्यही निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा सदस्यहरु तथा स्थानीय तहका प्रमुहरु पनि सदस्य रहनेछन्।
आयोजना छनौट समितिले सकेसम्म सहमति र त्यो संभव नभए प्रत्यक्ष निर्वाचित सांसदको अन्तिम निर्णयका आधारमा कार्यक्रम छनौट गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई दिनेछ।
सांसदको संयोजकत्वमा हुने समितिले छानेको आयोजनाको विवरण जिल्ला समन्वय समितिमार्फत संघीय मामिला मन्त्रालयमा पठाउनुपर्नेछ। मन्त्रालयले तलबाट प्राप्त भएको कार्यक्रमको सूची लाइन मिनिष्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआइएस)मार्फत अर्थ मन्त्रालयमा पठाउनेछ। एलएमबिआइएसमा कार्यक्रम प्रवृष्ट गरेपछि संघीय मामिलाले भुक्तानीको अख्तियारी स्थानीय तहलाई दिनेछ।
स्थानीय तहले यसरी कार्यान्वयन गर्ने कार्यक्रमका लागि शशर्त अनुदानका रुपमा संघीय सरकारबाट बजेट पाउँछ। संघीय सरकारबाट पाउने बजेटबाट एउटा निर्वाचन हुने जिल्लाबाट जिल्ला समन्वय समितिमा ४ लाख र १० वटा हुनेमा ८ लाख रुपैयाँ पैसा हस्तान्तरण हुन्छ। यो रकमबाट समन्वय समितिले जिल्लामा कार्यक्रम संयोजन तथा व्यवस्थापनको काम गर्नेछ।
सांसदको दबाबपछि खुलुको व्यवस्था
सामान्य प्रशासन मन्त्रालयले सांसदहरुलाई आफू अनुकूलका कार्यक्रम कार्यान्वन गर्न सक्ने गरी निर्देशिका प्रस्ताव गरेको थियो। त्यही निर्देशिका अर्थ मन्त्रालयसमेको सहमतिमा मन्त्रिपरिषदबाट स्वीकृत भएको हो।
‘सांसदहरुले आफू अनुकूलका कार्यक्रम कार्यक्रम साञ्चालन गर्न नपाएको भन्दै विरोध गरिरहेका थिए, यो निर्देशिका खुकुलो बनाउन प्रधानमन्त्रीलाई पनि उनीहरुले दबाब दिएका थिए,’ संघीय मामिला मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैअनुसार सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी दबाबमा निर्देशिका तयार गरिएको छ।’
निर्वाचन क्षेत्रमा ३२ वटासम्म कार्यक्रम सञ्चालन गर्न सक्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































