नेपाली कांग्रेसमा मिलापको प्रयास तीव्र, देउवा पक्ष रिट फिर्ता गर्न सकारात्मक

13

काठमाडौं। विशेष महाधिवेशनपछि विभाजित बनेको नेपाली कांग्रेसमा दुवै पक्षलाई मिलाएर अघि बढ्ने विषयमा आन्तरिक छलफल तीव्र बनेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनधर गगन थापालाई सभापतिको मान्यता दिएपछि असन्तुष्ट देउवा पक्षले आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
निर्वाचन आयोगले भोलि (मंगलबार) उम्मेदवार मनोनयनको कार्यतालिका तोकेपछि पार्टीभित्र सहमतिको प्रयास झनै सक्रिय भएको छ। यस्तो अवस्थामा सभापति गगन थापाले देउवा पक्षलाई पनि समेटेर लैजाने आन्तरिक तयारी थालेपछि दुवै पक्षबीच संवाद सुरु भएको हो।
आइतबार मध्यरातिसम्म भएको छलफल सकारात्मक बनेपछि दुवै पक्षलाई स्वीकार्य हुने गरी टिकट वितरण गर्ने विषयमा संवाद भइरहेको बताइएको छ। सोही सन्दर्भमा देउवा पक्षले सर्वोच्चमा दायर रिट फिर्ता गर्न सहमति जनाउने संकेत दिएको छ।
यसका लागि आज देउवा निवास महाराजगञ्जमा दुवै पक्षबीच थप छलफल हुने भएको छ। यसैबीच कांग्रेस सभापति गगन थापाले उम्मेदवार चयन प्रक्रियालाई समावेशी र सन्तुलित बनाउने प्रयास भइरहेको बताएका छन्।
उनले भने, ‘जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आयो। केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो रोजेकाले समयको अत्यधिक चाप परेको छ। सबैलाई मिलाएर लैजाने प्रयासमा छौं। टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गर्दछु।’
निर्वाचन आयोग र अदालतसँग सम्बन्धित विषयका कारण उम्मेदवार छनोटमा ढिलाइ भइरहेको समेत सभापति थापाले बताएका छन्।