भक्तपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मध्यपुर थिमि समितिको अधिवेशनको सरगर्मी बढेको छ । गत बैशाखमा वडा वडामा क्रियाशिल सदस्यता वितरण गरेको तरुण दलले सोमवार मध्यपुर थिमिमा वडा अधिवेशन सम्पन्न गरेको छ । केही वडामा मंगलवार अधिवेशन भएको तरुण दलका नेताहरुले जानकारी दिए ।
वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी शुरु भएको छ । मध्यपुर थिमिका ९ वटै वडामा सर्वसम्मत वडा समिति, नगर अधिवेशन प्रतिनिधि र जिल्ला प्रतिनिधि चयन गरेको तरुण दलको नगर नेतृत्वको आकांक्षीहरु बढ्दो छ ।
तरुण दलका स्रोतका अनुसार हालसम्म मध्यपुर थिमि नगर अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन । कांग्रेसका विभिन्न गुटको प्रतिनिधित्व गर्दै लक्ष्य कुटु, विनोद श्रेष्ठ, सविन डगोल र प्रज्वल घजु अध्यक्षको दौडमा देखिएका छन ।
स्रोतका अनुसार नेपाली कांग्रेसको केन्द्रीय गुट अन्तर्गत पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र पार्टी नेता शेखर कोइराला पक्षका भक्तपुरका नेताहरु पनि एक ठाउँमा उभिन सकेका छैन । यसैको परिणाम तरुण दल मध्यपुर थिमिको नेतृत्वका लागि आकांक्षीको संख्या बढेको हो ।
आकांक्षी मध्ये पार्टी जिल्ला सभापति एवम् सांसद दुर्लभ थापाको समूहबाट लक्ष्य कुटु, पूर्वजिल्ला सभापति गणेशमान चक्रधरको समूहबाट प्रज्वल घजु, दुई पटक जिल्ला सभापतिमा पराजित भएका नेपाली कांग्रेस भक्तपुरका नेता अष्ट कवेको समूहबाट सविन डंगोल र शेखर कोइराला गुटको आधिकारिक समूह दावी गर्ने सन्तोष भट्टराईको समूहबाट विनोद श्रेष्ठ तरुण दल मध्यपुर थिमिको नेतृत्वको लागि आकांक्षी देखिएको कांग्रेस स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार लक्ष्य कुटु र विनोद श्रेष्ठ बलियो प्रत्याशीको रुपमा देखिएका छन । लक्ष्य कुटुलाई तरुण दल भक्तपुर अध्यक्ष एवम् केन्द्रीय सदस्य राजु थापा, मध्यपुर थिमि नगर संयोजक पु्रुषोत्तम खड्कालगायतको समर्थन रहेको बुझिएको छ ।
यस्तै नेपाली कांग्रेस मध्यपुर थिमिका युवा नेताहरुको समर्थन रहेकोले विनोद श्रेष्ठको सम्भावना पनि बलियो देखिन्छ । कांग्रेस पूर्वजिल्ला सभापति चक्रधरले जिल्ला अध्यक्षमा आफ्ना उम्मेदवारलाई समर्थन गर्ने सर्तमा प्रज्वल घजुलाई व्याक गराउने तयारी गरिएको बुझिएको छ । यस्तो भएका सविन डंगोललाई पनि कुनै पदमा व्यवस्थापन गरेर कुटु र श्रेष्ठबीच सहमति गराउने प्रयास भइरहेको स्रोतले जानकारी दिए ।








































