नौ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने प्रथम बालिका सम्मेलन सम्पन्न

372

भक्तपुर,  सूर्यविनायक नगरपालिकामा नौ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने प्रथम बालिका सम्मेलन  सम्पन्न भएको छ ।

नगरस्तरीय बाल संरक्षण तथा सम्वद्र्धन समितिको आयोजनामा भएको सम्मेलनले बालिकाको हकहितका बारेमा घोषणापत्र एवं प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा बालिका त्रसित हुने गरी भइरहेको मानवता विरोधी जघन्य अपराधका घटना रोक्न तथा दोषीलाई कडा कारवाही गर्न, स्थानीय सरकारले बालिका तथा किशोरीमा हुने बालविवाह, लैङ्गिक विभेद, महिनावारीमा हुने छुवाछूत, शारीरिक तथा यौनजन्य दुव्र्यवहार र हिंसा निषेध गर्न माग गरिएको छ ।

नगरपालिकालाई बालमैत्री नगर बनाउन माग गर्दै बालबालिकाका बारेमा मापदण्ड तयार गरी कार्य गर्न माग गरिएको छ । नगरपालिकाबाट बालबालिकाका लागि कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, बाल दुव्र्यवहार, बाल हिंसा, बालश्रम, बालविवाह र अन्य समाजिक कूरीतिकाबारेमा विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने, प्रत्येक विद्यालयमा किशोरी मैत्री शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिनुपर्नेलगायत घोषणापत्रमार्फत माग गरिएको छ ।

सम्मेलनमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकालाई स्वःआत्मरक्षा सीपसमेत प्रदान गरेको छ । नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखि १९ वर्ष उमेर समूहका ११० बालिका एवं किशोरीको सहभागिता रहेको उक्त सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा बालिका तथा किशोरीलाई हिंसाबाट जोगाउन र हिंसारहित नगर बनाउने लक्ष्यका साथ आत्मरक्षाको सीप प्रदान गरेको बताउनुभयो । उहाँले महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बालबालिकाको क्षेत्रमा रु १८ लाखको बजेटसमेत विनियोजन गरेको बताउनुभयो ।